कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङलाइ

कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।  तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुङ्गालाई शून्यविरुद्ध २ गोल गर्दै मोरङ विजेता बनेको हो । 

मोरङले नगद रु तीन लाख ३३ हजार ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको ओखलढुङ्गाले रु दुई लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

म्याङलुङ खेलमैदानमा असार ३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लाको सहभागिता रहेको थियो ।  प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । 

बोर्डले रु २० लाख र खेलाडीका लागि आवास, खाजाका लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए ।