काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुन्छ : कांग्रेस नेता पौडेल

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताएका छन् ।

पाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’मा बोल्दै उनले भने, “काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ ।” भ्रष्टाचारविरुद्ध कांग्रेस शशक्त भएर उभिनुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताए । “एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भने । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । नेता पौडेलले कलङ्की-चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराए ।कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताए । “लोकतन्त्रलाई ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौँबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ”, उनले भने ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौँलाई प्रयोगशाला बनाएको बताए । “नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौँमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो”, उनले भने ।कांग्रेस काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताए । उनले पार्टीभित्र एउटै व्यक्तिले पटक-पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिए । “सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ”, उनले भने ।

कार्यक्रममा वाग्मती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का पूर्वसभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौँ महानगरपालिका-२८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेण्डा खोजेको बताए ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका-२६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।