अब बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनकाे मिति तोक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अब बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनबो मिति तोक्ने जानकारी गराएका छन्। 

राजधानीमा शनिबार पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले नयाँ विचार र संश्लेषणका लागि महाधिवेशनतर्फ जाने बताए।‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति, नयाँ संश्लेषण र विचारको निम्ति महाधिवेशनतिर जान्छौँ,’ प्रचण्डले भने, ‘अबको केन्द्रीय समितिको बैठकले महाधिवेशनको दिन तोक्छ।’

उनले यसअघि पनि ऐतिहासिक दिन छानेर महाधिवेशन उद्घाटन गरेको स्मरण गर्दै सुशासन र समृद्धिको नयाँ युगतिर देशलाई लानसकिन्छ भन्ने विश्वास दिलाउने ठाउँमा पार्टीलाई पुर्याइने दाबी गरे। 

‘पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौँ, सायद त्यस्तै दिन छानेर महाधिवेशनको उद्घाटन गर्छौं, नयाँ विचार संश्लेषण गर्छौँ, र नयाँ अभियानसहित जान्छौँ,’ उनले अघि भने, ‘अलि पर पुग्दा यो पार्टी के होला भन्ने स्थितिबाट यहीमात्रै पार्टी हो जसले एकतालाई बचाउन सक्छ, जसले सुशासन र समृद्धिको नयाँ युगतिर देशलाई लानसक्छ भन्ने विश्वास दिलाउने ठाउँमा यो पार्टी पुर्याउन सकिन्छ।’