तीन नेताको उच्चस्तरीय सिन्डिकेट– एमाले र माओवादी कोटाबाट कांग्रेसले पनि पायो राजदूतमा भाग

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ८ देशमा राजदूत सिफारिस गर्‍यो । बैठकले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गर्‍यो भने भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण कोरिया सुशील प्याकुरेललाई ।

घिमिरे उद्योग मन्त्रालयका पूर्वसचिव हुन् । प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन् । उनी विद्या भण्डारी राष्ट्रपति छँदा सल्लाहकार पनि भएका थिए । 
यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजन पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन् ।

तुलाधर र डा तिम्सिना सामाजिक आन्दोलनमा सक्रिय छन् । तुलाधर २०७८ जेठमा अस्ट्रेलियाका लागि राजदूत सिफारिसमा परेकी थिइन् । उनी मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी अनि मानव अधिकार आयोगका पूर्वसदस्य एवं एनजीओकर्मी गौरी प्रधानकी श्रीमती पनि हुन् । उनी गैरसरकारी संस्था सिबिनसँग आबद्ध थिइन् ।

डा तिम्सिना गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन् । उनी अति कम विकसित देशहरू (एलडीसी) का नागरिक संस्थाहरूको अन्तर्राष्ट्रिय आन्दोलनमा सहभागी सहभागी छन् । उनले नेपाल रेडक्रस सोसाइटीको पनि नेतृत्व गरिसकेका छन् ।

शुक्रबारको सिफारिसमा झट्ट हेर्दा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा)का २ र माओवादी केन्द्रबाट १ जना परेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको २ सिटमा नाम दिएको छैन । अर्को एक जना पनि एमालेबाटै पर्ने आकलन गरिएको छ ।

घिमिरे, रेग्मी, प्याकुरेल, तिम्सिना र तुलाधर एमाले कोटाबाट परेको भनिएको छ । रञ्जितकार र खान अशोक राई नेतृत्वको जसपाको कोटाका हुन् । पन्त माओवादीको कोटामा परेका भनिएको छ ।

तर यस भागभण्डामा सत्ता गठबन्धनका घटक मात्र छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भाग पाएको छ । अझ भन्दा माओवादी र एमालेबीच कांग्रेस रिझाउने होडबाजी नै चलेको छ । एमालेले आफ्नो कोटाबाट कांग्रेस पृष्ठभूमिका पूर्व नोकरशाह लोकदर्शन रेग्मीलाई दोहोर्‍याएर राजदूत सिफारिस गरेको छ । यसअघि बेलायतमा रहेका रेग्मी अब भारतमा राजदूत हुने भएका छन् ।

रेग्मी पारिवारिकरुपमै कांग्रेस पृष्ठभूमिका हुन् । उनका बुवा कांग्रेसको सक्रिय राजनीतिमा थिए भने लोकदर्शनले पनि सरकारी सेवामा हुँदा जीवनभर कांग्रेसकै सेवा गरेका थिए । एकैपटक उनी एमाले कोटामा राजदूत कसरी भए त ? यसको रहस्य हो, एमालेले कांग्रेससँग भित्रभित्रै गरिरहेको सत्ता साझेदारी ।

यस्तै माओवादीले पाएको एक मात्र कोटामा पनि कांग्रेसले नै अवसर पाएका छन् । गोरखाका विजन पन्त खुलेरैर कांग्रेसमा लागेका व्यक्ति हुन् । यसअघि सुशील कोइराला प्रधानमन्त्री छँदा उनी विकास सल्लाहकार थिए । बेलायतको अक्स्फोर्ड युनिभर्सिटीमा पनि संग्लनता देखाएर नेपालमा नेताका दैला चहार्दै हिँडेका उनले यसपालि कांग्रेस रिझाउने माओवादी प्रयासको फाइदा उठाउन भ्याएका छन् ।

सरकारले जेठ २४ गते विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । कांग्रेस र समाजवादीनिकट राजदूत फिर्ता बोलाइएको थियो । शक्तिशाली नेताले चाहेमा सरकार जोकसैको भए पनि आफ्नो भाग लिन सक्छन् भन्ने उदाहरण यसपालि पनि देखिएको छ ।

अर्थात् मुख्य दलका नेताहरुको सर्वदलीय सिन्डिकेटभित्र जुनसुकै बेला जस्तोसुकै लेनदेन चल्छ, सत्ता वा प्रतिपक्षको कुर्सीमा हुनुले कुनै फरक पार्दैन भन्ने यसबाट पुष्टि हुन्छ । उनीहरू चुनाव पनि मिलेर लड्छन् । कार्यकर्तालाई लडाउँछन् भिडाउँछन् र अनि बलि चढाउँछन् । आफू भने प्रतिद्वन्द्वीसँग घाँटी जोडेर रमाउँछन् र आरामदायी कुर्सी सुरक्षित राख्छन् ।