टी२० विश्वकप : इङ्ल्यान्डमाथि दक्षिण अफ्रिका ७ रनले विजयी

आइसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा इङ्ल्यान्डमाथि दक्षिण अफ्रिकाले विजयी हासिल गरेको छ।

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्ड सात रनले पराजित भएको हाे।अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो।  

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे। विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका प्रहार गरे। 

अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए। ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए। चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले अविजित ४३ रन थपे। उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे।

इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए। मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे। ‘सुपर–८’ चरणको ‘समूह–२’मा साविक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

यसैगरी इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो।