न्यूरोडको फुटपाथमा रहेको विरुवा वडाध्यक्ष चिनकाजी श्रेष्ठसहितको रोहबरमा उखेलिएयाे

न्यूरोडको फुटपाथमा रहेको विरुवा २२ नम्बर वडाले उखेलेको छ । काठमाडौं महानगरपालिकाका न्यूरोडको फुटपाथमा रहेको विरुवा २२ नम्बर वडाध्यक्ष चिनकाजी श्रेष्ठसहितको रोहबरमा उखेलिएको हो ।


न्यूरोडको फुटपाथमा रहेको विरुवा हटाएर, कुमारीको आँखा आकृतिमा राखिएको फुटपाथ र सडकको बिचमा राखिएको रेलिङ समेत काटेको वडासदस्य चन्द्रमान तुलाधरले  बताएका छन् ।

महानगरका एक नगर प्रहरी अधिकृतका अनुसार वडाध्यक्ष श्रेष्ठले ३० जेठदेखि नै विरुवा उखेल्ने मान्छे खटाएका थिए । ‘३० गतेदेखि विरुवा उखेलिन थालेछन्, केही दिनपछि थाहा भयो, २८४ वटा विरुवा उखेलेपछि नगर प्रहरीले हस्तक्षेप गरेका हुन् । अहिले रोकिएको छ,’ महानगरका एक कर्मचारीले भने ।

यस्तै २२ नम्बर क्षेत्रभित्रको न्यूरोडको फुटपाथमा रहेको २५ वटा रेलिङ पनि वडाले काटेको छ । काटेको रेलिङहरु महानगर प्रहरीको नियन्त्रणमा रहेको ती कर्मचारीले बताएका छन् ।

वडासदस्य तुलाधारका अनुसार फुटपाथ बढाउने भनिरहँदा बिरुवाको कारणले झन स्थान घटाउने भएकोले उखेलेको हो । ‘फुटपाथमा हिड्न ठाउँ छैन भनिरहँदा बिरुवाले स्पेश लिइरहेको छ भनेर वडाबासीले भनेपछि हामीले हटाएका हौं । यो हाम्रो वडाले रोपेको हो, विरुवाको जिम्मेवारी पनि हामीले नै लिएका छौं,’ उनले भने ।

उनले रेलिङ हटाउनुको कारण पनि फुटपाथको स्पेश नै कम भएकाले बताएका छन् । ‘ठाउँ सानो भएर सेक्सयुल ह्यारेसमेन्ट भयो भन्दा त्यो रेलिङ हटाउँदा १ फिट भए पनि बाटो बढ्छ । अर्को कारण चाहिँ रेलिङमा राखेको कुमारी र भगवानको आकृति हो । त्यहाँ थुक्ने, कुच्चो लगाएर फोहोर फाल्ने, नाघ्ने हुँदा आस्थाको कारणले पनि रेलिङ हटाएका हौं,’ तुलाधारले भने ।

कानुनी कारबाहीमा जान्छौं : बालेन सचिवालय

यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का प्रमुख स्वकीय सचिव भूपदेव शाहले वडा कार्यालयविरुद्ध कानुनी कारबाहीमा जाने तयारी गरेको सुनाएका छन् ।

‘महानगरको सम्पत्तिविरुद्ध उहाँहरुले कदम चाल्नु भएको छ । यसविरुद्ध सम्बन्धित विभागले प्रतिवेदन तयार पार्छ, त्यो प्रतिवेदनको आधारमा हामी कानुनी कारबाहीमा जान्छौं,’ उनले भने । उक्त विषय हेर्ने सार्वजनिक विभागका प्रमुख सुरज शाक्य भने यो विषयमा अहिले बोल्न नमिल्ने भन्दै निर्णय भएपछि मात्रै बताउने जानकारी दिन्छन् ।