टी-२० विश्वकप : बङ्गलादेशमाथि अस्ट्रेलियाको जित

आईसिसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले जित हात पारेको छ ।

वर्षाका कारण प्रभावित बनेको खेलमा डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) नियम भएपछि अस्ट्रेलियाले बङ्गलादेशमाथि २८ रनको जित निकालेको हो ।

सर विभियन रिचर्ड्स स्टेडियममा जारी सुपर–८ को खेल अन्तर्गत बङ्गलादेशले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको अस्ट्रेलियाले ब्याटिङ्ग गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । वर्षा सुरु हुनु अघिसम्म अस्ट्रेलियाले ६.२ ओभर खेल्दै विना कुनै विकेटको क्षतिमा ६४ रन बनाइसकेको थियो ।

त्यसपछि पुनः सुरु भएको खेलमा अस्ट्रेलियाले २ विकेटको क्षतिमा ११.२ ओभर खेल्दै १०० रन बनायो । त्यसपछि पुनः वर्षा सुरु भएपछि डिएलएस नियम लागू गर्दै अस्ट्रेलियाले जित हात पारेको हो । अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले सर्वाधिक ५३ रन बनाउँदा ट्रेभिस हेड ३१ रनमा आउट भए । मिचेल मार्स १ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १४ रन बनाए ।

बङ्गलादेशका लागि दुबै विकेट राशिद होसेनले लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

बङ्गलादेशका लागि कप्तान नजमुल होसेन सान्टोले ४१ रन जोड्दा तोहिद हृदयोयले ४० रनको पारी खेले । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बङ्गलादेशलाई विशाल रन जोड्नबाट रोक्न अस्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पाले २ विकेट लिए । ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान १/१ विकेट हात पारे ।