फ्राइडे रिलिज : सिनेमा हलमा एकै साथ २ नेपाली फिल्म

आज शुक्रवार अर्थात फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्महरु सिनेमा हलमा प्रदर्शनमा आएका छन् । आजदेखि रूपेश तामाङको निर्देशनमा बनेको फिल्म ‘दान्भी’ तथा प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’ प्रदर्शनमा आएका हुन् ।

१३ वर्षअघि नै प्रदर्शन भएको भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित ‘आचार्य’ उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले आजदेखि पुनः प्रदर्शनमा आएको हो ।

यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

आजदेखि नै प्रदर्शनमा आएको अभिनेत्री पूजा शर्माको एक्सन भूमिका रहेको फिल्म ‘दान्भी’ दर्शकले प्रतिक्षा गरिरहेको फिल्म हो । यो फिल्ममा पूजासँगै कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । हरिबहादुर घलेको छायांकन रहेको यो फिल्ममा रविना थापामगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।