दोलखाका ४ हजार बालबालिकाहरूको मुटु परीक्षण

दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ ।  जिल्लाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको मुटु परीक्षण गरिएको हो । 

बुधवार भीमेश्वर नगरपालिकाबाट सुरु गरिएको शिविरमा विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच गरिएको थियो । सो क्रममा विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो ।

बुधवार दोलखाको सदरमुकाम चरिकोटमा  विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको मुटु परीक्षण गरिएको शिविर आयोजनाका समन्वयकर्ता  दोलखाका बुद्धिजीवी  तथा राप्रपाका नेता कुमार कार्कीले जानकारी दिए । बिहीबार दोलखाको शैलुङ गाउँपालिकाका १ हजार ११ जना बालबालिकाको मुटु परीक्षण गरिएको शिविरमा संलग्न डाक्टर तथा मुटु रोग विशेषज्ञ प्रेमराज वैद्यले बताए  ।

 शैलुङमा रहेको शारदा माविमा आयोजना गरिएको शिविरमा १ हजार ११ जनाको परीक्षणका क्रममा ६ जनामा मुटुमा समस्या देखिएको र तीन जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको डाक्टर वैद्यले बताए । चरिकोट र शैलुङमा गरी मुटु परीक्षण शिविरका क्रममा १ सय ७८ जनाको इको गरिएको थियो ।  जसमध्ये १२ जना बालबालिकामा गम्भीर मुटु रोग समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

गम्भीर समस्या देखिएका १२ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निःशुल्क उपचार गरिने अन्नपूर्ण न्युरो अस्पतालका वरिष्ठ सर्जन वसन्त पन्तले जानकारी दिए । अन्नपूर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चीनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको हो ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट मुटुको निःशुल्क (सामान्य) जाँच तथा इको समेत गरिएको थियो । शिविरको सम्पूर्ण व्यवस्थापकीय कार्य राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष तथा समाजसेवी शोभित उप्रेतीले गरेका थिए ।

शिविरमा मुटु परीक्षणमा संलग्न चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पतालका डाक्टर लु जियाङले नेपालमा अन्य देशमा जस्तो मुटुका रोगी बालबालिका नभेटिएकोप्रति खुसी व्यक्त गरे । शुक्रबार शिविर सिन्धुपाल्चोकमा सञ्चालन हुने अन्नपूर्ण न्युरो अस्पतालका डाक्टर समीर आचार्यले बताए ।