धनगढीकाे बेहडाबाबा मन्दिरमा लागेको धार्मिक मेलामा आए एक लाख बढी भारतीय भक्तजन

गङ्गादशहरा पर्वका अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लागेको धार्मिक मेलामा एक लाख बढी भारतीय भक्तजन आएका छन् ।

असार १ देखि ५ गतेसम्म सञ्चालन भएको मेलामा एक लाख ५० हजारको हाराहारीमा भारतीय भक्तजन आएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

बेहडाबाबामा गङ्गादशहरा मेलाका लागि छिमेकी मुलुक भारतबाट प्रत्येक वर्ष दर्शनार्थी ठुलो सङ्ख्यामा आउने गरेका छन् । “वर्षौदेखि यहाँ भारतीय भक्तजन आउने गरेकामा विसं २०६२/६३ को आन्दोलन पछि भक्तजनको सङ्ख्या घटेको थियो । यसपालि सङ्ख्या बढेको छ”, अध्यक्ष जोशीले भने ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने भक्तजनको विश्वास छ । यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । 

परापूर्व कालदेखि गङ्गादशहरा, महाशिवरात्रिलगायतका पर्वमा बेहडाबाबा मन्दिर दर्शनका लागि भक्तजन आउने गरेका छन् । यहाँ आउने भक्तजनका लागि निःशुल्क खाना र पानीको व्यवस्था गरिएको थियो । उक्त मेलामा चार सयको सङ्ख्यामा व्यापारिक स्टल राखिएका थिए ।