वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

चैतभित्र ६ अर्ब भुक्तानी गर्ने भनेको सरकारले वाचा पूरा गरेन, फेरि आन्दोलनमा उत्रिए दूग्ध किसान

दूग्ध किसानलाई चैतभित्र ६ अर्ब भुक्तानी गर्ने सहमति गरेको सरकारले ठगेको छ। किसान काठमाडौंमा आएर आन्दोलनमा उत्रिएपछि सरकारले गत फागुनमा ५ बुँदे सहमति गरेको थियो।

उक्त सहमति अनुसार दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नु पर्दथ्यो। सहमति अनुसार ६ लाख दुग्ध किसानले ६ अर्ब रुपैयाँ पाउनुपर्ने थियो। डिडिसिसंग मात्र २ अर्ब किसानले लिनु पर्ने थियो।

तर, योबीचमा किसानलाई भुक्तानी दिन सरकारले कुनै सहयोग गरेन। व्यापारिबाट त परैको कुरा सरकारी स्वामित्वको डिडिसीले पनि भुक्तानी दिएन।

https://barnanmedia.com/news/detail/179757/

संवैधानिक इजलास लाग्दा पचपन्न प्रतिशत मुद्दा स्थगित

सर्वाेच्च अदालतमा संवैधानिक इजलास लाग्दा पचपन्न प्रतिशत मुद्दाहरु स्थगित भएको पाइएको छ । 

 

बिहिबारको लागि साप्ताहिक पेशी सूचि र दैनिक पुरक पेशी सूचिमार्फत चढेका २ सय ६० मुद्दामध्ये संवैधानिक इजलास बसेका कारण ९२ वटा मुद्दा पेशीमै नचढी स्थगितको सूचिमा प्रकाशित भए । 

पेशीमा चढेका जम्मा एक सय अठसठ्ठी मुद्दामध्ये अठतिसवटा फैसला भएका छन् । पेशीमा चढेका मुद्दामध्ये पनि २ वटामा निर्णय सुनाइने, २ वटा हेर्दाहेर्दै, अठारवटामा प्रक्रियागत आदेश, १४ वटा कानुनव्यवसायीबाट स्थगित र ९३ वटा हेर्न नभ्याउनेमा परेका छन् । 

https://barnanmedia.com/news/detail/179758/

ओलीका अभिव्यक्तिमा सत्ता गठबन्धनमै शंका, एमाले–माओवादी गठबन्धन धरापमा

देशका प्रमुख दुई वाम घटक नेकपा एमाले र माओवादीबीचको सहकार्य फेरि पनि धरापमा पर्ने देखिएको छ । यी दुई शक्तिबीचको सहकार्य धेरै नचल्ने संकेत पाएपछि सत्ता गठबन्धनभित्रै आशंका र अविश्वास बढ्दै गएको छ । कतिसम्म भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन बोलाउँदा पनि केही नेताहरु गइरहेका छैनन् । यो सरकार नै कति दिन टिक्ने हो भन्ने ठेगान नभएकाले सरकारमा नगएको उनीहरुको भनाइ छ ।

जस्तो कि सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै होइन, सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पहल गरिरहेका छन् । उपप्रधानमन्त्री रवि लामिछानेले समेत सीके राउतलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बन्न आउन भनेका छन् । तर राउत सरकारमा गइरहेका छैनन् । उनी अझै पर्ख र हेरकै अवस्थामा छन् । 

https://barnanmedia.com/news/detail/179768/

टेलिकम कार्यालयमा एकजनाको करेन्ट लागेर मृत्यु

सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा ज्याला मजदुरीमा काम गर्ने एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् ।बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए ।

हिमा गाउँपालिकामा पढाइ मेला

  जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनका लागि पढाइ मेला आयोजना गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि बालबालिकाको प्रतिभा पहिचान गर्ने उद्देश्यले मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

 

विद्यार्थी, शिक्षक र अभिभावकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्ने, स्थानीय स्रोत साधनबाट विभिन्न सामग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने, पठन सीपको विकास, सिकाइउपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न मेला गरिएको हो”, उहाँले भन्नुभयो ।

खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य 

मास्टर सेफ सन्तोष साहले सुरु गर्नुभएको ‘मिथिला थाली’ रेस्टुराँ दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुराँ सुरु गर्नुभएका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गर्नुभएको छ । 

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उहाँले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गर्नुभएको थियो । साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेस्रो शाखाको आज ‘सफ्ट ओपनिङ’ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुराँ सञ्चालन हुने उहाँको भनाइ छ । 

२ घण्टा प्रचण्ड र ओलीसँग छलफल गरेर रवि सिंहदबार वार्ताबाट निस्किए

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सिंहदबार वार्ताबाट निस्किएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका गृहमन्त्री लामिछाने केहीबेर अघि छलफलबाट निस्किएका हुन्। उनी सिंहदरबारमा झण्डै २ घण्टा छलफलमा बसेर निस्किएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

रवि निस्किएपछि सिंहदबारमा प्रचण्ड र ओलीबीच छलफल भइरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच छलफल भएको थियो। छलफलमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। 

प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउँदैछौँ : मन्त्री अर्याल

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो कार्यक्रमबारे पुनःविचार गर्नुपर्छ भनेर काम भइरहेको छ । कम्तीमा यो कार्यक्रमले सीप विकास र उद्यमशीलतासँग जोड्न सक्नुपर्छ ।” राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा बोल्दै उहाँले श्रम स्वीकृतिमा बेथिति देखिएकाले एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

 अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको हो । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुइ वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

इन्डोनेसिया अवैध अनलाइन जुवा खेलाउने २० लाखभन्दा बढी वेबसाइटहरू बन्द

इन्डोनेसियाले अवैध अनलाइन जुवा खेलाउने २० लाखभन्दा बढी वेबसाइटहरू बन्द गरेको छ।

अनलाइन जुवालाई नयाँ महामारी भएको जनाउँदै त्यहाँको सञ्चार मन्त्रालयले रोकथाममा कदम चाल्नुपरेको जनाएको छ।विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल राष्ट्रमा अनलाइन जुवा खेल्न प्रतिबन्धित छ, तर गत वर्ष ३० मिलियनभन्दा बढी इन्डोनेसियालीहरूले करिब २० बिलियन अमेरिकी डलर, वा सकल घरेलु उत्पादनको १.५ प्रतिशत बराबरको गतिविधिमा संलग्न भएको सरकारी तथ्यांकले देखाएको छ।

इतिहास रचेका समलिंगी विवाहित जोडीहरु आफ्नै समुदायको संस्थाबाट तिरस्कृत

 गत मङ्सिर १३ गते मात्रै कानुनी रूपमा विवाह दर्ता गरेका हुन माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले। १२ असार २०८० मा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्लेख गरेर विवाह दर्ताको प्रमाणपत्र पाए उनीहरूले। 

 

लमजुङको दोर्दी गाउँपालिका कार्यालय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्ने देशकै पहिलो पालिका बन्यो भने नेपाल दक्षिण एसियामै पहिलो देश भनेर चिनियो। 

सर्वोच्च अदालतको आदेश बोकेर काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गर्न माया र सुरेन्द्रले प्रयास गरे। तर, सर्वोच्चको आदेश जिल्ला अदालतले कार्यान्वयन गरेन। उनीहरू उच्च अदालत पाटन पुगे। उच्चले पनि जिल्ला अदालतकै आदेश सदर गर्‍यो। 

सञ्चार माध्यम मार्फत विपद् बारे पूर्व सूचना दिइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बताउनुभएको छ । 

निजी तथा सामुदायिक रेडियो, टेलिभिजन र इन्टरनेट सेवा प्रदायकलाई पनि यसप्रकारको पूर्वसूचना दिने व्यवस्था मिलाउन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षक माथिको छलफलअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलमा सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।  

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले आज आफ्नो किसान २ परियोजना सम्पन्न भएको अवसरमा आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्णउपलब्धिहरू प्रदर्शन गरिएको थियो ।जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी २,७०,६०० भन्दा बढी किसानहरूलाई सहयोग गरेको छ ।

युएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबिचको बलियो साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीयवृद्धि गरेको छ । किसान २ परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६०० कृषि सल्लाहकारहरूलाई किसानहरूलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्‍याउनुका साथै ३५,००० भन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ । 

१२ वर्षपछिको प्रधानन्यायाधीशहरूको नाममा मत नमिल्दा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति अनिश्चित

साढे १२ वर्षपछिको सम्भावित प्रधानन्यायाधीशहरूको नाममा मत नमिल्दा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति अनिश्चित बनेको छ । नियुक्तिमा हुने राजनीतिक खिचातानीका कारण दुई वर्षदेखि सर्वोच्च अदालत न्यायाधीश रिक्तताबाट चलिरहेको छ ।

 

न्यायाधीश मीरा खड्काले २ जेठ २०७९ मा अवकाश पाएपछि हालसम्म पनि सर्वोच्च अदालतमा पूरै (२१ जना न्यायाधीश) पदमा बहाल हुन सकेका छैनन् । अहिले ४ जना न्यायाधीश रिक्त भएका कारण दैनिक कम्तिमा पनि २ वटा संयुक्त इजलासको कामकारबाही ठप्प भएको छ ।समयमा नियुक्ति हुन नसक्दा यो दुई वर्षको अवधिमा सर्वोच्च अदालतले न्यायसम्पादनका लागि अधिकतम जनशक्ति व्यवस्थापन गर्न पाएन । नेपालको संविधानमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित २१ जना न्यायाधीश हुने परिकल्पना छ ।

चांगानको दिपल जी–३१८ हार्डकोर इलेक्ट्रिक एसयुभी ग्राहकको पहिलो रोजाई , ५ दिनमै १४ हजार १२६ वटा बुकिङ

चांगानको दिपल जी–३१८ हार्डकोर इलेक्ट्रिक एसयुभी यतिबेला ग्राहकको पहिलो रोजाई बन्न पुगेको छ । सार्वजनिक भएको ५ दिनमै १४ हजार १२६ वटा बुकिङ भएको कम्पनीको दाबी छ ।

२४ हजारदेखि ४३ हजार ८०० डलरसम्म मूल्य तोकिएको जी–३१८ ६ भेरियन्टमा उपलब्ध छ । यसमा सिंगल मोटर रियर ह्विल ड्राइभ र डुअल मोटर फोर ह्विल ड्राइभ भेरियन्ट उपलब्ध छन् । इन्ट्री लेभल टु ह्विल ड्राइभको अहिले प्रि अर्डर भएको हो, जसको डेलिभरी आगामी अगष्टबाट सुरु हुने कम्पनीले जनाएको छ ।

चांगानको इनोभेटिभ ब्लु कोर प्लेटर्फममा बनेको जी–३१८ मा १.५टी रेन्ज एक्सटेन्डर, हाई पर्फमेन्स इलेक्ट्रिक मोटर र गोल्डन शिल्ड ब्याट्री रहेको छ । यो कम्बिनेसनले रियर ह्विल ड्राइभमा १८५ किलोवाट र फ्रन्ट ह्विल ड्राइभमा १३१ किलोवाट पावर उत्पन्न गर्छ । खसाइबर मेटल आर्मरले यो एसयुभीको एक्टेरियर डिजाइनलाई रगेड बनाएको छ भने यसको ग्राउन्ड क्लेरेन्स २४० एमएम रहेको छ ।

साउदीमा हजयात्रामा गएकी एक नेपालीको गर्मीका कारण मृत्यु

 हजयात्राका लागि साउदी अरबको मक्का मदिना गएकी एक नेपालीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ ।साउदीस्थित महावाणिज्यदूतावासका अनुसार बाँकेकी सायर बानु सैयदको मृत्यु भएको हो ।

मुस्लिम समुदायको पवित्र तीर्थयात्रा साउदी अरबको मक्कासम्मको हजका क्रममा यस वर्ष ५६२ तीर्थयात्रीको मृत्यु भएको छ । केही तीर्थयात्री अझै बेपत्ता रहेको र केहीको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मक्कामा ५१.८ डिग्री सेल्सियससम्मको तापक्रम रहेको र हिट स्ट्रोक तथा गर्मीजन्य अन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनुपरेको रोयटर्सले जनाएको छ । चरम गर्मी, शारीरिक थकान, ठूलो जमघटलगायत कारण हजयात्रामा जोखिम थपेको जनाइएको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसी छन्। उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

 

केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।