२०८१ सालको एसईई आगामी चैत ७ गतेबाट सञ्चालन गर्ने

 राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट सञ्चालन गर्ने भएको छ। 

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको शैक्षिक तालिका सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो। बोर्डले पहिलोपटक मितिसहितको तालिका सार्वजनिक गर्दै आगामी ७ गतेदेखि एसईई परीक्षा हुने जनाएको हो। त्यस्तै उक्त परीक्षाको परीक्षाफल भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिनेछ। 

त्यस्तै सार्वजनिक भएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिने बोर्डले जनाएको छ। भने कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ। 

त्यस्तै ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन १९ र २० गते लिइनेछ भने त्यसको नतिजा भदौ २० गते भित्र दिनेगरी काम गरिएको जनाइएको छ।