कोपा अमेरिका भोलि देखि सुरु हुँदै , उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

 दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि सुरु हुँदैछ ।

कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ५ः४५ बजेदेखि हुँदैछ ।

अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिँदै छन् । जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा, अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन् ।

१६ देशलाई चार समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समूह ‘बी’मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् ।

त्यस्तै, समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहेका छन् भने समूह ‘डी’ मा ब्राजिल कोलम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् ।

समूह चरणको खेलपछि हरेक समूहका शीर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुनेछ ।

कोपा अमेरिकाको यो ४८औं संस्करण हो । अहिलेसम्म सबैभन्दा बढी १५ पटक अर्जेन्टिना र उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेका छन् । अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो ।

त्यस्तै, ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ भने पाराग्वे, चिली र पेरुले २/२ पटक यो उपाधि जितेका छन् ।

त्यस्तै, बोलिभिया र कोलम्बियाले एक/एक पटक यो उपाधि जितेका छन् । मेक्सिको २ पटक फाइनलमा पुगेपनि उपविजेता मै चित्त बुझाएको थियो ।