चैतभित्र ६ अर्ब भुक्तानी गर्ने भनेको सरकारले वाचा पूरा गरेन, फेरि आन्दोलनमा उत्रिए दूग्ध किसान

दूग्ध किसानलाई चैतभित्र ६ अर्ब भुक्तानी गर्ने सहमति गरेको सरकारले ठगेको छ। किसान काठमाडौंमा आएर आन्दोलनमा उत्रिएपछि सरकारले गत फागुनमा ५ बुँदे सहमति गरेको थियो।

उक्त सहमति अनुसार दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नु पर्दथ्यो। सहमति अनुसार ६ लाख दुग्ध किसानले ६ अर्ब रुपैयाँ पाउनुपर्ने थियो। डिडिसिसंग मात्र २ अर्ब किसानले लिनु पर्ने थियो।

तर, योबीचमा किसानलाई भुक्तानी दिन सरकारले कुनै सहयोग गरेन। व्यापारिबाट त परैको कुरा सरकारी स्वामित्वको डिडिसीले पनि भुक्तानी दिएन।

भुक्तानी नपाएपछि किसानहरु आन्दोलन गर्न काठमाडौं आइपुगेका छन्।
 

किसानहरु बुधबार दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ तथा तालाबन्दी गर्न पुगेका थिए। तर, उनीहरुलाई प्रहरीले धरपकड मात्र गरेन केही किसानलाई पक्राउ समेत गरेको थियो। अहिले देशभरीका ४ सय किसान काठमाडौंमा छन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुधबार ने भएको छलफल निष्कर्ष विहिन भएको छ। 

सरकारले ०७९ मा मुलुक दूग्धमा आत्मनिर्भर भएको घोषणा गरेको थियो। तर, अहिले पनि भारतबाट दूध पाउडर आउने गरेको छ। नेपालमा किसानले उत्पादन गरेको दूग्ध पदार्थले भाउ नपाउने, विक्री भएको दूधको पनि भुक्तानी नहुने समस्या छ। तर, सरकार भने आत्मनिर्भरको नारा लगाउँदै आएको छ।