अभिभावकविहीन बालबालिकालाई आठ लाख सहयोग

काठमाडौँ, ५ असार : क्यान्सर रोगका कारण आमा गुमाउँदा अभिभावकविहीन भएका दुई बालबालिकालाई रु आठ लाख सहयोग प्राप्त भएको छ ।  

आमाको मृत्यु भएको र बाबा सम्पर्कविहीन बनेका बालबालिकालाई बागलुङ घर भई हाल अमेरिका बसोबास गर्दै आएका नेपालीको सक्रियतामा अमेरिकाबाट रु आठ लाख सहयोग प्राप्त भएको हो । बागलुङ नगरपालिका–४ पाखाथरकी मीना आचार्यको क्यान्सर रोगबाट ग्रसित भई उपचारका क्रममा मृत्यु भएको थियो । 

हाल अमेरिका रहेका राजेन्द्र केसी, विपिन श्रेष्ठ र प्रकाश उपाध्यायको सक्रियतामा सङ्कलन भएको रु आठ लाख ८७ हजार छ सय ४२ मीनाका छोरा मनोज आचार्य र छोरी ममता आचार्यलाई हस्तान्तरण गरिएको छ । मीनालाई चार वर्ष अगाडि पाठेघरको क्यान्सर देखिएको थियो । उनको जायजेथासमेत बिक्री गरी दिदी भिनाजु र आफन्तले उपचार गरेका थिए । उनको उपचारमा रु १६ लाखभन्दा बढी खर्च भएको थियो । 

उपचारकै क्रममा थप रकम आवश्यक देखिएपछि हाल अमेरिकामा रहेका मीनाका छिमेकी राजेन्द्र केसी, प्रकाश उपाध्याय, उपल्लाचौरका विपिन श्रेष्ठले साथीहरुको सहयोग लिएर आर्थिक सङ्कलन सुरु गरेका थिए । तर, मीनाको निधन भएपछि उनका छोराछोरीको नाममा उक्त रकम बचत गरिदिने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

उपचार र काजकिरियामा लागेको खर्च कटाएर सात लाख मनोज र ममताको नाममा नेपाल बैंकमा संयुक्त खाता खोली बचत गरिने दाताहरुले जनाएका छन् । मृतक मीनाका श्रीमान् मनि आचार्य दुई वर्षदेखि बेपत्ता छन् । क्यान्सरको उपचार गराइरहेकी श्रीमतीलाई छोडेर आचार्य बेपत्ता भएपछि परिवारमा थप सङ्कट देखिएको थियो ।