पारा तेक्वान्दो खेलाडी महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक मा सहभागी हुने

 पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा सहभागी हुने भएका छन् ।

पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल समूहमा महता नेपालबाट सहभागी हुने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार उक्त तौल समूहमा जम्मा १२ खेलाडी रहने छन् ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–८ का २७ वर्षीय महता विगत १८ महिनादेखि राष्ट्रिय टोलीमा रहेर अभ्यास गर्दै आएका छन् । महतासँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत वर्ष चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा यसै वर्ष जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका महता सेमिफाइनलमा मङ्गोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि महता विश्व बरियताको ८१औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी बरियताविहीन थिए ।

भियतनाममा पनि महताले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका उनले दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि महता विश्व बरियताको ५८औँ स्थानमा उक्लिएको प्रशिक्षक लामाले जानकारी दिए । अहिले उनी ५८औँ स्थानमा कायम छन् ।

महतासँगै पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको सङ्ख्या दुई पुगेको छ । पेरिस पारालिम्पिकमा पलेशा गोवद्र्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् ।

चीनको ताइयानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कास्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागी बन्ने पहिलो नेपाली खेलाडी बन्दै छिन् ।