किलोवाट छेडखानी प्रकरणमा बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकमा राजस्वको छापा

 किलोवाट छेडखानी प्रकरणमा राजश्व अनुसन्धान विभागले बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकमा छापा मारेको छ । आयातित सवारी साधनको किलोबाट घटाएर राजश्व छलि गरेको सूचनाका आधारमा विभागले मंगलबार छापा मारेको हो । विभागले उक्त कम्पनीबाट महत्वपूर्ण कागजात जफत गरेको छ । 

विभागका महानिर्देशकले चक्रबहादुर बुढाले किलोवाट प्रकरणलगायत अरु धेरै विषयमा समस्या रहेको सूचना आएपछि केही महत्वपूर्ण कागजातहरु अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । यसबारे थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । 

चिनियाँ गाडी निर्माता कम्पनी बीवाईडीले नेपालमा आक्रामक बजार विस्तार गरिरहेको छ । विश्वमै पनि ठूला अटो कम्पनीलाई टक्कर दिइरहेको कम्पनी पछिल्लो समय भने गुणस्तर लगायतका विविध विषयमा विवादित बन्दै गएको छ । 

नेपालमा कम किलोवाट क्षमताको गाडीमा कम र धेरै किलोवाटका सवारीमा धेरै भन्सार लाग्छ । तर आयातकर्ता कम्पनीहरुले भने कम किलोवाट क्षमता भनेर आयात गर्ने र कर छली गर्ने प्रवृत्ति रहेको आशंका गरिएको छ । यो मामिलामा बीवाईडी मात्रै नभएर दुईपाङ्ग्रे र चारपाङ्ग्रे विद्युतीय सवारी आयात गर्ने कयौं कम्पनी रहेको बताइन्छ ।