पशुपतिको भेटी चोरी प्रकरणमा एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउन जिल्ला अदालतकाेआदेश

पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले सत्य नारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेपनि अरू प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

सीसीटीभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान सकेपछि मुद्दा अदालतमा पुगेको थियो ।भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न रहेको भन्दै अदालतमा मुद्दा पुगेको छ । 

यसबारे बुधबार थुनछेक बहस सकिए अदालतले एक जनाबाहेक सबैलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो । 

भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।