भारतले पहिरोबाट प्रभावित पपुवा न्युगिनीमा पठायाे राहत सामग्री

 भारतले पहिरोबाट प्रभावित पपुवा न्युगिनीमा राहत सामग्री पठाएको छ । भारतले १९ टन बराबरको राहत सामग्री त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पपुवा न्युगिनीको एङ्गा प्रान्तमा हालै गएको पहिरोमा परी २ हजार जनाको मृत्यु भएको थियो भने कैयौँ बेपत्ता भएका थिए । पहिरो गएसँगै भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्याकेज घोषणा गरेको थियो ।

भारतले पपुवा न्युगिनीतर्फ पठाएको राहत सामग्रीमा खानेकुरा, अस्थायी आवासका सामग्री एवम् औषधि रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै राहत सामग्री पठाएको जानकारी दिएका हुन् ।

भारतले विभिन्न समयमा पपुवा न्युगिनीलाई राहत सामग्री सहयोग गर्दै आएको छ । सन् २०१८ मा त्यहाँ गएको भूकम्प तथा सन् २०१९ र २०२३ मा भएको ज्वालामुखी विस्फोटका बेला पनि भारतले पपुवा न्युगिनीलाई राहत सामग्री प्रदान गरेको थियो ।