दूधको रकम भुक्तानी गर्न माग

काठमाडौँ, ५ असार : किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् । आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् ।

 सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रिनुपरेको बताउनुभयो  । उहाँका अनुसार देशभरका किसानले दूध बिक्रिवापत् झण्डै रु सात अर्ब भुक्तानी पाउन बाँकी छ । दुग्ध विकास संस्थानबाट मात्र रु दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ ।
      
संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्रि नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताउनुभयो । 

 “किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेका छौँ, दुई महिनाभित्र किसानको समस्या समाधान हुन्छ,” उहाँले भन्नुभयो । दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको छ ।