५ सय र हजारको नोट प्रतिवन्ध लगाउनु पर्छ : कांग्रेस उपसभापति गुरुङ

मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकारसँग माग गरेका छन्। 

बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरु प्रतिवन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे। उनले अवैध रुपमा राखिएका धनराशी पनि ५ सय र हजारका नोटमा प्रतिवन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे।

सिरानी मुनि, खाटमुनि, जमिनमुनि र  पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिवन्ध लगाउन आवश्यक रहेको उपसभापति गुरुङले बताए।