एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २अर्ब अनुदान दिने

 

एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ असार १ गते सिन्धुपाल्चोकमा गएको बाढीले मेलम्चीको हेडबक्समा क्षति पुर्‍याएको थियो ।

उक्त हेडबक्स निर्माणका लागि एडीबीले १९.७५ मिलियन डलर अर्थात् नेपाली दुई अर्ब ६३ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

बाढीसँगै बगेर आएको गेग्रान र ढुंगाले हेडबक्सका ९० प्रतिशत भूभाग पुरेको थियो । त्यसपछि हेडबक्स वरपरको गेग्रान सफा गरिएकोमा २०८० साउन २७ गते आएको बाढीले फेरि हेडबक्स पुरिएको थियो । त्यसपछिका विभिन्न अध्ययनका क्रममा विज्ञहरुले हेडबक्सलाई पुन: सोही स्थानमा निर्माण गर्नु जोखिमपूर्ण हुने भन्दै सार्न सुझाव दिएका थिए ।

दातृ निकाय एडीबीले पनि उक्त हेडबक्स सार्न २ वर्षअघि नै सुझाव दिएको थियो । तर सरकारले उक्त विषयमा कुनै निर्णय गरेको थिएन । केही दिनअघि मात्रै मन्त्रिपरिषद्को बैठकले हेडबक्स सार्न सैद्धान्तिक सहमति दिएकोमा अब त्यहाँबाट करिब एक हजार मिटर माथि हेडबक्स बनाउने तयारी गरिएको छ ।

सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ । आयोजनाले चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसका लागि झण्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।