गोजीमा भएको राजीनामा पत्र प्लास्टिक कोटेड गरेर राख्न मन्त्री श्रेष्ठलाई सांसद् गुरुङकाे सुझाव

कांग्रेस सांसद् धनराज गुरुङले खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई गोजीमा भएको राजीनामा पत्र प्लास्टिक कोटेड गरेर राख्न सुझाव दिएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन विधेयकमा छलफल गर्ने क्रममा सांसद गुरुङले धेरै कडा बोल्दा राजीनामा दिनुहुने हो कि भन्दै व्यङ्ग्य गरेका हुन्।

उनले भने, ‘युवा तथा खेलकुद मन्त्रालयबारे खासै धेरै टिप्पणी गर्न पनि चाहन्न किनभने मन्त्रीज्यूले राजीनामा पत्रै बोकेर हिँड्नुभाछ। त्यसैले धेरै कडा बोल्दा उहाँको खल्तीबाट राजीनामा पत्र निस्कियो भने गाह्रो होला।’

मन्त्रीले राजीनामा बुझाए पनि त्यसले प्रधानमन्त्री र स्वयं मन्त्रीलाई असर नगर्ने भन्दै २०८४ सालसम्म राजीनामा पत्रलाई सम्हालेर राख्न आग्रह गरे।

‘उहाँको खल्तीबाट राजीनामा पत्र निस्कँदा कतिलाई लाग्न सक्छ प्रधानमन्त्रीलाई अफ्ठ्यारो पर्नसक्छ कि, पर्दैन। कतिलाई लाग्नसक्छ उहाँकै मन्त्री पद जाने हो कि, जाँदैन त्यो पनि,’ उनले भने, ‘तर एउटा कुरा के भने उहाँको खल्तीबाट राजीनामा पत्र निस्कियो भने कतै भिज्छ कि भन्ने मलाई चिन्ता हो। नभिजोस्। बरु एउटा सुझाव छ, त्यो राजीनामा पत्रलाई प्लास्टिक कोटेड नै गरेर राख्न्ुस् र २०८४ को चुनावसम्म राख्नुस् भन्ने मेरो आग्रह छ।’

केही दिनअघि युवा तथा खेलकुदमन्त्री श्रेष्ठले आफूहरुलाई अस्वभाविक र अनुचित दबाब दिए राजीनामा दिने बताएका थिए। त्यसका लागि राजीनामा पत्र गोजीमै राखेर हिँडेको र मिति मात्र लेख्न बाँकी रहेको  भनेका थिए।