वीरभानसिंह हत्या प्रकरण : हत्यामा संलग्न आरोपमा थप एक पक्राउ , समातिनेको संख्या ५ पुग्यो

बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन्।

घटनापछि फरार अटो चालक पाटन नगरपालिका-१ का आशिष पहरीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुपाल थापाका अनुसार पाटन नगरपालिका–७ स्थित जंगलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

यसअघि डडेल्धुराबाट पक्राउ परेका पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईले पहरीले आफूहरूलाई वीरभानसिंहको शव व्यवस्थापनका लागि बोलाएको बयान दिएका थिए। 

प्रहरी नियन्त्रणमा रहेकी शिक्षिका भागरथी विष्टले शव व्यवस्थापनमा राजेन्द्र, किशोर र आशिषले सघाएको भनेपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको हो। 

शिक्षिका भागरथी, राजेन्द्र, किशोर, आशिष र पाटन नगरपालिका–६ का ३८ वर्षीय भरत मोहन विष्टविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थुनामा राखेर उनीहरुबारे अनुसन्धान भइरहेको छ। 

मुख्य आरोपित शिक्षिका भागरथीले वीरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन्। प्रहरीसमक्ष प्रारम्भिक बयानमा उनले यही असार १ गते राति १२ बजे वीरभान आफ्नो घरमा आएको बताएकी छन्। 

मध्यराति घरमा घुसेर जिस्क्याउँदै गालीगलौज गरेपछि चिपर्टले हानेर हत्या गरेको उनले बताएकी छन्। वीरभान र भागरथीको घरनजिकै छ।मध्यराति हत्यापछि प्लास्टिककको बोरामा शव बेरेर घरमै लुकाइएको थियो। अर्को दिन आइतबार भागरथी सहश्रीलिङ प्राथमिक विद्यालयमा पढाउन गएकी थिइन्। उनका श्रीमान् केही वर्षअघि नै बितसकेका छन्।

आइतबार राति शव व्यवस्थापन गरिएको थियो। आइतबार राति मोटरसाइकलमा राखेर शव भीरबाट मिल्काएको उनीहरूको भनाइ छ। हत्यामा प्रयोग भएको चिर्पटमा लागेको रगत पखालेको समेत उनीहरू बताउँछन्। 

शव व्यवस्थापनमा गर्न प्रयोग भएको से ७ प ४४०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।शनिबारदेखि बेपत्ता वीरभानको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ को झागल भीरमा प्लास्टिकको बोरामा भेटिएको थियो।