नेपाल एयरलाइन्समा पाइलट अभावले उडान प्रभावित

नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ ।

हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् ।

चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, “हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ उडान गर्न दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन् । वाइडबडी र न्यारोबडी जहाज उडाउन ३३ जोर चालक आवश्यक पर्ने भए पनि झन्डै २० जोर मात्रै चालक रहेका छन् । मौजाद चालकमध्ये चार जना वरिष्ठ चालक निलम्बनमा परेपछि उडान व्यवस्थापनमा त्यसको असर देखिन थालेको छ ।”

वाइडबडी जहाजका लागि ३४ जना र न्यारोबडी जहाजका लागि ३२ जना चालक आवश्यक रहेकोमा अहिले निगमसँग वाइडबडी उडाउन १७ जना र न्यारोबडी उडाउन २२ जना मात्रै चालक रहेको उनले बताए ।