राति १२ बजेतिर वीरभान भागरथीको घरमा घुसेर गालीगलौज गरेपछि चिर्पटले हानेर हत्या गरेकाे बयन

काठमाडौं । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्या घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यस क्रममा प्रहरीले सोही ठाउँकी शिक्षिका भागरथी विष्टसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। पीडित परिवारको किटानी जाहेरीपछि प्रहरीले शिक्षिका विष्टसहित पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईलाई सोमबार तथा पाटन नगरपालिका-६ का ३८ वर्षीय भरत मोहन विष्टलाई मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतबाट ५ दिनको हिरासत म्याद लिएर उनीहरूबारे अनुसन्धान भइरहेको छ। घटनाका अर्का शंकास्पद व्यक्ति पाटन नगरपालिका-१ का आशिष पहरी फरार छन्। प्रहरीले उनको खोजी तीव्र पारेको छ। 

उनी अटो चालक हुन। आरोपित शिक्षिका भागरथीले वीरभानको हत्या स्वीकारेकी छन्। प्रहरीसमक्ष प्रारम्भिक बयानमा असार १ गते राति १२ बजेतिर वीरभान भागरथीको घर आएका थिए। 

मध्यरात घरमा घुसेर गालीगलौज गरेपछि चिर्पटले हानेर हत्या गरेको उनले बताएकी छन्। वीरभान र भागरथीको घर नजिकै छ। उनीहरूबीच यसअघि पनि विवाद भएर प्रहरीसम्म पुगेका थिए।

‘वीरभानले ती महिलालाई जिस्क्याउने रहेछन्। असार १ गते घरमा घुसेर गालीगलौज गरेपछि चिर्पटले हानेर मारेको महिलाको प्रारम्भिक बयान छ,’ प्रहरी स्रोत भन्छ, ‘अन्य कारण अहिलेसम्म केही खुलेको छैन। महिला एक्लैले हत्या गरिन् कि अरु पनि यसमा संलग्न छन् भनेर अनुसन्धान भइरहेको छ।’ 

असार १ राति १२ बजेपछि घटना भएको थियो। महिलाले हत्या गरेर कुनै गल्ती नगरेको बताउने गरेको प्रहरी अधिकारी बताउँछन्। मध्यराति हत्यापछि प्लास्टिकको बोरामा शव बेरेर घरमै लुकाइएको थियो। 

अर्को दिन आइतबार भागरथी सहश्रीलिङ प्राथमिक विद्यालयमा पढाउन गएकी थिइन्। उनका श्रीमान् छैनन्। आइतबार राति शव व्यवस्थापन गरिएको थियो। 

पक्राउ परेका राजेन्द्र र किशोरले शव व्यवस्थापनमा सघाएको भागरथीले प्रहरीसमक्ष पोलेकी छन्। उनीहरूलाई फरार आरोपित अटो चालक आशिषले बोलाएका थिए।

‘साथीलाई भेटन् जाऊँ भनेर आशिषले बोलाएको र त्यसपछि शव व्यवस्थापन गर्न लगाएको राजेन्द्र र किशोरले भनेका छन्। अहिलेसम्म ती महिलाले नै हत्या गरेको र अन्यले शव लुकाउन सघाएको खुलेको छ,’ प्रहरी स्रोत भन्छ, ‘विस्तृत अनुसन्धान भइरहेको छ। फरार आरोपित समातिएपछि थप केही खुल्ला।’

आइतबार राति मोटरसाइकलमा राखेर शव भीरबाट मिल्काएको उनीहरूको भनाइ छ। हत्यामा प्रयोग भएको चिर्पटमा लागेको रगत पखालेको समेत उनीहरू बताउँछन्। 

शव व्यवस्थापनमा गर्न प्रयोग भएको से ७ प ४४०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। शनिबारदेखि बेपत्ता वीरभान खोजी माग गर्दै सोमबार बिहान परिवारले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका थिए।

उनीहरूले भागरथीप्रति शंका गरेपछि प्रहरीले नियन्त्रणमा लिएर केरकार गर्दा वीरभानको हत्याको घटना बाहिरिएको थियो।

सोमबार दिउँसो पाटन नगरपालिका-६ को झागल भीरमा हत्या गरेर प्यास्टिकको बोरामा राखिएको अवस्थामा वीरभानको शव भेटिएको थियो। सँगै चिर्पट पनि थिए।