सहकारीका कर्मचारीलाई गोली प्रहार गरेर लुटपाटको प्रयास गर्ने एक जना पक्राउ

रौतहटमा सहकारीका कर्मचारीलाई गोली प्रहार गरेर लुटपाटको प्रयास गरेको समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको चर्चित आपराधिक समूह बाबा ग्याङका मोनुकुमार जैसवाललाई पक्राउ गरेको रौतहटकी प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।

२०८१ जेठ २२ गते बिहान सवा १० बजेतिर रौतहटको मौलापुर नगरपालिका ६ पथरा बुधराम सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा कलेक्सनको काम गर्ने २४ वर्षीय अरबिन्द कुमार दासमाथी गोली प्रहार भएको थियो।

सहकारीको संकलन गरेको रकम राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो। तर गोली लागे पनि उनी सामान्य घाइते मात्रै भएका थिए। मोटरसाइकलमा रहेका उनीमाथि आक्रमण भएपछि उनी मोटरसाइकलमै बाणिज्य बैंकमा पुगेका थिए। बैंकमा पुगेर उनले घटना बारे सुनाएपछि अनुसन्धानका क्रममा उनीमाथि गोली प्रहार भएको पुष्टि भएको थियो।

गोली प्रहारपछि अज्ञात समूह फरार भएको थियो। घटनाको दुई सातापछि भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्रामपंचायत बसवरिया २ का २० वर्षीय मोनु कुमार जैसवाल पक्राउ परेका हुन्। उनलाई रौतहटबाटै पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिएकी छन्।

गोली प्रहारको घटनामा तीन जनाको समूहको संलग्नता देखिएको छ। तर अन्य दुई जना भने भारतमै अर्को घटनामा संलग्न भएपछि पक्राउ परिसकेका छन्।

रौतहटकै बौधिमाई नगरपालिका ८ का २४ वर्षीइ अरबिन्द कुमार दासले १७ लाख झोलामा लिएर मौलापुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाँदै थिए।

मोटरसाइकलमा मौलापुरतर्फ जाने क्रममा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले रकम लुटपाट तथा डाँका गर्ने उद्देश्यले दासलाई पछाडीबाट गोली प्रहार गरेका थिए।

घटनामा घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आवद्ध रहेको प्रहरीले पहिचान गरेको थियो।यो समूह नेपाल – भारतका सीमा क्षेत्रमा लुटपाटमा संग्लन रहेको, अवैध भन्सार चोरी निकासीमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ।

करिब ४ महिना अगाडि यही समूहले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरूलाई पनि कुटपिट गरेको थियो।उक्त घटनामा पक्राउ गरेर जेल परेका व्यक्तिहरू नै छुटेपछि पनि निरन्तर आपराधिक घटनामा संलग्न रहेको पाइएको डीएसपी गिरीले बताइन्।

सहकारीका कर्मचारीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास गरेको घटनाका मुख्य योजनाकार जैसवाल नै रहेको प्रहरीको दाबी छ। उनकै योजनामा घटना घटाएको खुलेको रौतहट प्रहरीले बताएको छ।

उनलाई सोमबार साँझ रौतहट मौलापुर नगरपालिका ७ बाट घरेलु कटुवा पेस्तोल एक थान र यसको गोली २ राउन्डसहित पक्राउ गरेको हो।उनीविरुद्ध मंगलबार जिल्ला अदालत रौतहटबाट हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि म्याद लिएको छ।