ज्यामरुककोट र ढोलठानमा पर्यटकीय पूर्वाधार निर्माण

पर्यटकीय सम्भावनायुक्त म्याग्दीका ज्यामरुककोट र ढोलठानमा स्थानीय तथा प्रदेश सरकारको संयुक्त लगानीमा पर्यटकलक्षित पूर्वाधार निर्माण गरिएका छन् । पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–२ स्थित ज्यामरुककोट र बेनी नगरपालिका–९ स्थित ढोलठान दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा ज्यामरुककोटको खड्गभवानी कोत र ढोलठान दरबार परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । प्रदेश सरकारको रु १० लाख बजेटबाट यसपाली खड्गभवानी कोतघर परिसरमा ३८ मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको छ । 

त्यसैगरी ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत ढोलठाना संरक्षण योजनाका लागि १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत रु १० लाख गरेर रु २० लाखको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । 

बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बेनीमा आउने पर्यटकको बसाइँ लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिइएको बताउनुभयो । उहाँलले पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटकका लागि बस्ने कुर्चीको व्यवस्था गरिएको छ । यसअघि प्रदेश सरकारको रु १५ लाख सहयोगमा भकुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्न तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको थियो । यसैगरी गत आर्थिक वर्षमा प्रदेश सरकारकै रु १० लाख बजेटबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण भएको छ । कोतघर परिसरमा रु पाँच लाख बजेटमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटांगिनी निर्माण, नागथान र मौलो राख्ने ठाउँ पनि निर्माण गरिएको खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

१५औं शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटन गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको उहाँको भनाइ छ । अध्यक्ष घिमिरेका अनुसार अनुसार यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला÷इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै पनि यथावत् छन् । 

समुन्द्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धवलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ । त्यसैगरी विसं १६३१ देखि १८४३ सम्म पर्वत राज्यको राजधानी रहेको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण कार्य पनि तिब्ररुपमा भइरहेको छ ।

बेनीको शिरमा पर्ने ढोलठानको पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकनस्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सीपबाट आकर्षक किसिमको प्रवेशद्वार बनाइएको छ ।

    ‘‘ढोलठाना तत्कालीन पर्वत राज्यको ग्रिष्मकालीन राजधानी हो । तत्कालीन पर्वते राजा डिम्ववम मल्ल (उनलाई दिलीपवम मल्ल पनि भनिन्थ्यो) ले हिउँदका चार महिना बेनी कुरिलाखर्क र अरु समय ढोलठानलाई राजधानी बनाएका थिए” नगरपालिका ९ का वडाअध्यक्ष चक्र केसीले भन्नुभयो, “यही दरबार क्षेत्रमा स्थानीय मौलिक सीप र कला प्रयोग गरेर पूर्वाधार निर्माण गरेका छौँ ।’’ 

    दरबार क्षेत्रमा ढुङ्गाबाट निर्मित आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । त्यसैगरी ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको छ ।

    प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न पर्खाल निर्माण गरिएको छ । ढोलठानालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यअनुसार यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । ढोलठानामा थप पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।

    यहाँ पुराना अभिलेख तथा चिनारीहरुको संरक्षण गरेर राख्न सङ्ग्रहालय बनाउने योजना छ । त्यसैगरी बेनी नगरपालिकाले गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्ग बनाउने बनाउने योजना अघि सारेको छ ।