विराटनगर महानगरद्वारा आयोजित ‘परिवार संवाद’ सम्पन्न

विराटनगर महानगरपालिकाले साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा आयोजना गरेको लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २५ गतेबाट सुरु भएको परिवार संवादमा ३५ जोडी सहभागी भएका थिए ।

 विराटनगर महानगरपालिका—८ सुकुम्बासी बस्ती र बलुवाहीमा सञ्चालित परिवार संवादमा सहभागीलाई उदीप मण्डल र ईश्वरी खड्काले प्रशिक्षण दिनुभएको थियो । 

सामान्य विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले परिवार संवाद सञ्चालन गरेको जनाएको छ । यसले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने आयोजकले विश्वास लिएको छ । 

महानगपालिकाका प्रमुख नागेश कोइरालाले यस्ता कार्यक्रमले समाज तथा परिवारमा हुने लैङ्गिक हिंसा न्यूनीकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि परिवार संवादलाई अझै व्यापक बनाउँदै लैजाने उहाँले बताउनुभयो । 

कोकनका अध्यक्ष मञ्जिता उपाध्यायले श्रीमान् र श्रीमतीबीचको बेमेल न्यूनीकरणका लागि दुवैलाई सम्झाउनुका साथै आआफ्नो दायित्वका विषयमा समेत जानकारी गराउने गरिएको बताउनुभयो । कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैङ्गिक विभेद न्यूनीकरण हुने आफूहरूको अपेक्षा रहेको उहाँको भनाइ छ । 

आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको महानगरकी महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु लोहनीले बताउनुभयो । यस्ता कार्यक्रमले श्रीमान्–श्रीमती मात्रै नभई परिवारबीचको सम्बन्ध सुमधुर भई सुखी र खुसी पारिवारिक जीवनका लागि सहयोग पुग्ने उहाँले दाबी गर्नुभयो । 

कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले सहभागी जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन गरिएको र त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान्–श्रीमती दुवै जनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।