बहुवर्षे शिक्षा नीतिका लागि सुझाव सङ्कलन

काठमाडौँ, ४ असार : काठमाडौँ महानगरपालिकाले बहुवर्षे शिक्षा नीतिका लागि सुझाव सङ्कलन गर्ने भएको छ ।  

मस्यौदा गरेको ‘बहुवर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन कामपाले यही असार ७ गते सुझाव सङ्कलनको तयारी गरेको हो । कामपा सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार, सुझाव दिनका लागि अनलाइन फारम भर्नुपर्नेछ ।  समावेशीता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकलाई एसएमएसमार्फत सहभागिताका लागि निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो । 

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, विद्यालय निरीक्षकहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्रोत शिक्षकहरु, विद्यार्थी, शिक्षक (तहगत रुपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरुसँग सुझाव लिइसकिएको छ । 

नीति कार्यान्वयनमा सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणमा सुझाव सङ्कलन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।  प्राप्त सुझाव समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगरसभा बैठकमा छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित गरिने जनाइएको छ । 

कामपाले गत जेठ ३२ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।