सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा पत्रकार काफ्ले पक्राउ

मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ पर्नुभएको छ । सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरीशनिश्चरे–१ का काफ्ले पक्राउ पर्नुभएको हो । उहाँलाई आज साइबर अपराध अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेको हो । काफ्लेले प्रमाणबिना पथरीशनिश्चरे नगर पूर्वप्रमुख दिलीपकुमार राईको फोटो आँखामा पट्टी लगाएर पोष्ट गर्नुभएको थियो ।

यसैगरी, संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि पोष्ट गर्नुभएको थियो । काफ्लेलाई साइबर अपराध सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । जिल्लाले आदेश दिएपछि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठले काफ्लेलाई पक्राउ गरेर जिल्ला पठाउनुभएको थियो ।

काफ्ले पक्राउ परेकोबारे विभिन्न व्यक्तिको स्टाटसबाट सार्वजनिक भएपछि उहाँ आफैंले पनि स्टाटस राख्नुभएको छ । काफ्लेले प्रमाणबिना शंका र कसैले भनेकै भरमा स्थानीय व्यक्तिहरुलाई गम्भीर अपराधीझैं आँखामा पट्टी समेत लगाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै आउनुभएको थियो । प्रमाणित नहुने विषय फेसबुकमा लेख्नुहुन्न भनेर सम्झाउँदा समेत नमानेपछि उहाँलाई पक्राउ गरिएको बुझिएको छ ।

यस्तै, पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई पनि उहाँले गम्भीर अपराधीझैं तस्बिर राख्नुभएको थियो । आचार्यले जिल्ला अदालत मोरङमा मानहानी सम्बन्धी उजुरी दिएपछि मुद्दा काफ्लेविरुद्ध चलिरहेको छ । यसैगरी, पथरीशनिश्चरे–१ नं. वडा कार्यालयको बद्नाम हुने विषयमा प्रमाणबिनै सामाजिक सञ्जालमा लेखेपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो । सो कसुरमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि काफ्लेलाई छाडिएको थियो।