समाजलाई मोती जस्तै चम्काउँदै मोती पुस्तकालय

काठमाडौँ, ४ असारः  झन्डै ६५ वर्षअघि स्थापना भएको मोती पुस्तकालय पर्वत जिल्लाको मात्र नभएर देशकै सामाजिक जागरणको दियो बन्दै आएको छ । जिल्लाको फलेवास नगरपालिका–५, खानीगाउँमा २०१६ सालमा स्थापित यस पुस्तकालय स्थापनापश्चात् सामाजिक जागरण र सचेतनाको महत्वपूर्ण केन्द्रका रुपमा पहिचान मात्र बनाएको छैन, देशका अन्य पुस्तकालयका लागि पनि अनुकरणीय बनेको छ ।

स्व. मोतीप्रसाद लम्सालको स्मृतिमा सुरुमा घरको पिढीमा काठको फल्याकले बारेर एउटा कोठाबाट सुरु गरिएको यो पुस्तकालय अहिले सुविधा सम्पन्न भवनमा व्यवस्थित रुपमा सञ्चालन भएको छ । २०६३ सालमा समसामयिक विषयका लेखनहरूको सङ्कलन ‘मोती’ प्रकाशन गरी सोहि पुस्तक विक्री र विज्ञापनवाट सङ्कलित नौ लाख रुपैयाँ रकम समेत गरी पुस्तकालयका लागि एक रोपनी जग्गा खरिद गरिएको थियो । 

सुरुमा रिड नेपालले भवन निर्माणका लागि रु १३ लाख र फर्निचर तथा किताबका लागि रु पाँच लाख सहयोग गरेको पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले जानकारी दिनुुभयो । उहाँका अनुसार २०६४÷६५ सालमा भवन निर्माण सुरु गरी २०६९ सालमा १९ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो । भवन निर्माणका लागि शिक्षा मन्त्रालयले रु ४५ लाख उपलब्ध गराएको लम्सालले जानकारी दिनुुभयो । पुस्तकालयमा हाल २५ हजार पुस्तकहरू रहेका छन् । पुस्तकालयका लागि पछि एक रोपनी जग्गा समेत थपिएकामा त्यहाँ शहरी विकास मन्त्रालयको रु ३० लाख सहयोगमा अर्को १५० जना क्षमताको सभा कक्ष निर्माण भैरहेको उहाँले जानकारी दिनुुभयो ।

पुस्तकालय स्थापनासँगै यसले यस क्षेत्रमा शैक्षिक जागरणका साथै सामाजिक सचेतना अभिवृद्धिमा पनि विशिष्ट योगदान पुुगेको उहाँको भनाइ छ । हरेक दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने यस पुस्तकालयमा दैनिक विभिन्न उमेर समूहका पाठकहरू आउने गरेका छन् । समाजमा पठन संस्कृति हराउँदै गएको बेला यस पुस्तकालयमा भने दैनिक ६०÷६५ जनासम्म पाठक आउने गरेको पुस्तकालय व्यवस्थापन समितिका सचिव एवम् लाइब्रेरियन इन्द्रप्रसाद सापकोटाले जानकारी दिनुुभयो ।  

उहाँका अनुसार पुस्तकालयमार्फत नै पर्वत जिल्लाका १७० विद्यालयमा ‘सामुदायिक विद्यालयमा ‘विद्यालय पुस्तकालय कार्यक्रम’ सञ्चालन गरिएको छ । ती विद्यालयमा पुस्तकालयका तर्फबाट आवश्यक साथ सहयोगसँगै समयसमयमा अनुुगमन तथा कार्यक्रमहरू सञ्चालन गरिएको छ । 

पर्वत जिल्लामा रहेका सामुदायिक तथा सरकारी विद्यालयमा पठन संस्कृतिको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको सापकोटाले जानकारी दिनुुभयो । पुस्तकालयले समयसमयमा सञ्चालन गर्दै आएको घुम्ती पुस्तकालय सेवा पनि समाजका लागि बहुउपयोगी बनेको छ । समाजमा पठन संस्कृतिको विकास गर्न पाठ्यसामग्री झोलाझोलामा राखेर पुस्तकालयमा आउन नसक्ने अशक्त व्यक्तिको घर र टोलमा जाने अभियानले सामाजिक जागरणमा विशेष टेवा पुुगेको छ ।

पुस्तकालयमार्फत मोती सामुदायिक सिकाइ केन्द्र, प्राविधिक ज्ञान सेवा कार्यक्रम, मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सञ्चालन भएको छ । त्यस्तै सुरक्षित आप्रवासन कार्यक्रम, मोति महिला सिलाइकटाइ उद्योगजस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै सामाजिक सचेतना अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।

व्यवस्थित भवनसँगै पुस्तकालयमा विभिन्न कक्षहरू सञ्चालनमा रहेको पुस्तकालयका अध्यक्ष कृष्णराज पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार पुस्तकालय कक्षमा १२ वर्षदेखि माथिका विभिन्न उमेर समूहका नागरिकले भरपुर उपयोग गर्दै आएका छन् । यहाँको विद्युतीय पुस्तकालयमा एक सफ्टवयरमा सात हजार पुस्तक राखिएको छ भने कम्प्युटरहरू नेटवर्किङ गरी राखिएको छ । पुस्तकालयको बाल कक्षमा १२ वर्षसम्मका बालबालिकाका लागि खेल्ने सामाग्रीसँगै बाल सहित्यका विभिन्न सामग्री राखिएको छ ।

महिला कक्ष राखिएको पुस्तकालयमा समुदायका महिलालाई कसरी पुस्तकालयमा ल्याउने भन्ने उद्देश्यका साथ विभिन्न तालिममा सहभागी गराउने गरिएको छ । यसैका माध्यमबाट महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ २०७० सालमा २० रुपैयाँ र २० जनाबाट शुरुआत गरिएको मोती पुस्तकालय महिला वचत तथा ऋण सहकारी २०७० सालबाट सञ्चालनमा आइसकेको छ । 

पुस्तकालयमा समुदायका महिलालाई ल्याएर उनीहरूलाई विभिन्न तालिममा सहभागी गराउने, दैनिक रुपमा पुस्तकालयमा आउने बानी बसाल्ने, आयआर्जनमा जोड दिने उद्देश्यका साथ सञ्चालित सहकारीमा हाल चार सय जना महिला आवद्ध हुनुहुन्छ । यस संस्थाले डेढ करोड रुपैयाँ बराबरको कारोवार समेत गर्नुको साथै रु २२ लाख संंस्थाको शेयर पुँजी रहेको छ । 

पुस्तकालयमा रहेको तालिम कक्ष यस क्षेत्रकै लागि बहुउपयोगी बनेको छ । यसले पुस्तकालयका कार्यक्रमसँगै फलेवास नगरपालिकाका विभिन्न कार्यक्रम सञ्चालन गर्दा आयआर्जनमा समेत सहयोग पुगेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकालयमा अनौपचारिक शिक्षाअन्तर्गत मोती सामुदायिक पुस्तकालय सिकाइ केन्द्र सञ्चालन गरिएको छ । केन्द्रमा नगरपालिकाको शिक्षा शाखाका कर्मचारी समेत रहनुभएको छ । सिकाइ केन्द्रको कर्मचारीसहित पुस्तकालयमा चारजना कर्मचारी कार्यरत रहनुभएको उहाँले जानकारी दिनुुभयो ।  

रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोग तथा मोती सामुदायिक पुस्तकालयको  व्यवस्थापनमा सञ्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रमले समुदायका किसानका समस्या पहिचान गरी  विज्ञसहितको टोलीले समस्या समाधान गर्ने भएकाले यसले समुदायमा राम्रो प्रभाव पारेको लाइब्रेरयिन सापकोटाले जानकारी दिनुुभयो ।

पुस्तकालयकै प्रयासमा सुरु भएको मोती महिला सिलाइकटाइ उद्योग दलित, जनजाति, गरिब तथा सिमान्तकृत गृहिणी महिलालाई उद्यमशील बनाउने उद्देश्य राखिएको छ । सुरुमा १५ जना महिलालाई एड्भान्स सिलाइकटाइ तालिम प्रदान गरी त्यसपछि मोती महिला सिलाइकटाइ उद्योगको रुपमा सञ्चालन गरिको थियो । उद्योगमार्फत सेनेटरी प्याड तथा अन्य फेसनेवल सामग्री उत्पादन गर्न शुरु गरिएको छ । यसै कार्यक्रमअन्तर्गत एक हजार ३०० जना छत्रा तथा महिला शिक्षिकालाई लाई निःशुल्क सेनेटेरी प्याड, रुमाल, साबुन, पेन्टी जस्ता सामग्रीका साथै सरसफाइसम्बन्धी जानकारी पुस्तिका समेत वितरण गरिसकिएको उहाँले जानकारी दिनुुभयो ।

समुदायमा आयआर्जन गराउने उद्देश्य राख्दै पुस्तकालयले अगरबत्ती बनाउने, ज्याति कात्ने जस्ता तालिम प्रदान गर्दै आएको छ । समुदायमा आयआर्जनका लागि मुढा, कुसनहरु बनाउने तालिमसँगै टिसर्ट बनाउने जस्ता विभिन्न खालका प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ । 

पुस्तकालयमा मोती सामुदायिक पुस्तकालय सदस्यता विस्तार, आर्थिक सङ्कलन तथा अक्षयकोष अभियान सञ्चालन गरिएको छ । मोती स्मृर्तिकोष अभियानअन्तर्गत स्व.भाग्यकुमारी खनाल स्मृतिकोष जस्ता कोष स्थापना गरिएको छ । पुस्तकालयमार्फत मोती सामुदायिक पुस्तकालय पर्यावरण संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरिदै आइएको छ । त्यस्तै ट्यागगल्स कार्यक्रम सञ्चालन अभियानअन्तर्गत १२ वर्षदेखि १५ वर्षका किशोरीहरूलाई प्रविधिमार्फत सशक्तीकरण गरी क्षमता अभिवृद्धि गराउने गरिएको छ । यस अभियानमा हालसम्म एक सय १० जना सहभागी बनेका छन् ।

पुस्तकालयको दिगो सञ्चालन एवम् व्यवस्थापनका लागि विभिन्न अभियान तथा कार्यक्रम प्रभावकारी बनेका छन् । म्याचिड्ग फन्ड अभियानअन्तर्गत पुस्तकालयलाई दिगो  सञ्चालनको लागि सिहाटल अमेरीका वस्नुहुने पुस्तकालयको संरक्षक सदस्य अमूल्य भट्टराई र यादवमणि भट्टराईले मासिक एक सय अमेरिकी डलर जम्मा गरी वार्षिक रुपमा जम्मा भएको एक हजार २०० डलरलाई माइक्रोसफ्ट कम्पनीमा ‘म्याचिङ’ गरी वार्षिक रुपमा दुुई हजार ४०० अमेरिकन डलर जम्मा गरिरहनु भएको छ ।

दिनको एक रुपैयाँ सहयोग अभियान यहाँको अर्को विशिष्टता हो । यस अभियानमार्फत समुदायमा रहेका व्यक्तिलाई पुस्तकालयमा जोडिनका लागि आह्वान गरिएको छ । यस अन्तर्गत जन्मोत्सव, श्राद्ध, चौरासी पुजा, चुडाकर्म, विवाह, न्वारान, सरकारी सेवामा जोडिदा होस् वा वढुवा हुँदा स्वःफूर्त रुपमा एक रुपैयाँ दान अभियानमा अहिलेसम्म एक सय ६३ जनाबाट रु.९८ हजार आठ रुपैयाँ जम्मा भएको छ । 

लाइब्रेरियन सापकोटाका अनुसार पुस्तकालय सञ्चालनको लागि नियमित स्रोतको अवस्था नरहे पनि तालिम हलको भाडा, सदस्यता, म्याचिड फण्ड, ब्याज, चन्दा, आर्थिक सहयोग सहित वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । पुस्तकालयमा कार्यरत कर्मचारीको तलव, मसलन्द, मर्मतसम्भार, विभिन्न कार्यक्रम सञ्चालन लगायतमा रु १६ लाख खर्च भई औषत चार लाख बचत हुने गरेको छ । अहिले पुस्तकालयको कूल सम्पत्ती रु एक करोड ७० लाख रहेको बताइएको छ । 

नौ प्रकारका सदस्यता कायम गरेकामा कुल ९४८ सदस्य रहेको पुस्तकालयमा हाल पाँच सय ३८ साधारण सदस्य, ३१९ आजीवन सदस्य, ८४ संरक्षक सदस्य, तीन विशिष्ट सदस्य, दुई मानार्थ संस्थापक सदस्य, एक जना प्रमुख संरक्षक सदस्य र एक जना मानार्थ स्वदेशी सदस्य रहनुभएको छ । 

पुस्तकालयको हाल निर्माणाधीन सभा कक्ष समुदायका मानिसहरूले भूकम्पलगायतका विभिन्न प्राकृतिक विपत्तीका क्रममा उपयोग समेत गर्न सक्ने उल्लेख गर्दै उहाँले उक्त स्थानमा पर्वत जिल्लामा प्रचलित लोपोन्मुख संस्कार, संस्कृति, प्राचीन ढिकी, जाँतो जस्ता सामग्री समेतको सङ्कलन गर्दै सङ्ग्रहालय समेत निर्माण गर्ने अवधारणा अघि सारिएको बताउनुुभयो ।