युरोकप २०२४ : ३९ वर्षका रोनाल्डोले तोड्न सक्ने रेकर्डहरू...

 ३९ वर्षको उमेरमा, क्रिस्टियानो रोनाल्डो पुनः युरोपेली च्याम्पियन बन्ने पोर्चुगलको दाबीको नेतृत्वमा फर्किएका छन् - जुन उनको अविश्वसनीय करियरको अन्तिम प्रमुख प्रतियोगिता हुन सक्छ।

रोनाल्डोले पोर्चुगललाई युरो २०१६ जित्न मद्दत गरे । अहिले रोबर्टो मार्टिनेजको टोलीलाई आफ्ना सबै खेल जित्दै युरो २०२४ का लागि छनोट हुन उनले महत्त्वपूर्ण भूमिका खेले ।

रोनाल्डोले पहिलो पटक सन् २००४ मा १९ वर्षको उमेरमा युरोमा खेलेका थिए । उनी पहिले नै पाँच युरोमा आफ्नो देशको प्रतिनिधित्व गर्ने एकमात्र पुरुष खेलाडी हुन् । आजको खेलमा उनले खेलेसँगै यो रेकर्ड विस्तार हुनेछ।

उनले १२ जुन २००४ मा ग्रीसविरुद्ध २-१ को पराजय मा एक गोलसँगै प्रतियोगितामा खाता खोलेका थिए । त्यसपछि गोलहरू आउने क्रम जारी छ।

पेनाल्टी सुटआउट बाहेक, उनले युरोमा १४ गोल गरेका छन् - २००४ मा दुई, २००८ मा एक, २०१२ र २०१६ मा तीन–तीन गोल । सन् २०२१ मा गरेको पाँच गोलले उनलाई प्रतियोगिताको संयुक्त शीर्ष स्कोरर बनायो।

तीन वर्षअघि पोर्चुगलको उद्घाटन खेलमा हंगेरी विरुद्धको खेलमा दुई गोल गर्दै उनले मिचेल प्लाटिनीले बनाएको ९ गोलकोलाई पछि पारे । यद्यपि ती सबै  गोल प्लाटिनीले एकै प्रतियोगितामा गरेका थिए । सो बेला फ्रान्सले सन् १९८४ को उपाधि जितेको थियो ।

  • युरो २०२४ मा रोनाल्डोले के-के रेकर्ड तोड्न सक्छन्?

तर रोनाल्डोले अहिलेसम्म सबै कीर्तिमान भने राखेका छैनन् । सन् १९८० पछि सबैभन्दा धेरै गोलको अवसर सिर्जना गर्ने रेकर्ड पोर्चुगलका अर्का महान् खेलाडीको नाममा छ । 

लुइस फिगो ४२ वटा अवसर सिर्जना गर्दै सूचीको शीर्ष स्थानमा छन् । रोनाल्डो एक अङ्कले मात्रै पछाडि छन् भने जर्मनीका मेसुट ओजिल ४०, चेक रिपब्लिकका कारेल पोबोर्स्कीस ३९ र फ्रान्सका जिनेदिन जिदानले ३८ अवसर सिर्जना गरेको तथ्यांक छ ।

म्यानचेस्टर युनाइटेडका पूर्व विंगर पोबोर्स्कीले हाल रोनाल्डोसँग छ–छवटा एसिस्ट गर्ने कीर्तिमान बाँडेका छन् । चेल्सीका पूर्वखेलाडी इडन हाजार्ड र म्यानचेस्टर सिटी र बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयनाको पाँच-पाँचवटा एसिस्ट छन् । जर्मनीमा डी ब्रुयनाले यो सङ्ख्या बढाउन खोज्नेछन् ।

३९ वर्षको उमेरमा पनि रोनाल्डो पोर्चुगल टोलीका सबैभन्दा पाका खेलाडी होइनन्, यो सम्मान टोलीका साथी पेपेको हातमा छ।

४१ वर्षीय डिफेन्डरले गोल नगरेको अवस्थामा रोनाल्डो प्रतियोगिताको इतिहासमा सबैभन्दा पाको उमेरमा गोल गर्ने खेलाडी बन्न सक्छन् । उनले त्यो कीर्तिमान अस्ट्रियाका इभिका भास्टिक (जो सन् २००८ मा ३८ वर्ष २५७ दिनमा पोल्याण्डसँग १-१ को बराबरीमा गोल गरेका थिए) बाट खोस्न सक्छन्। 

युरोको फाइनलमा सबैभन्दा पाको उमेरको गोलकर्ताको रेकर्ड पनि रोनाल्डोले कब्जा गर्न सक्छन् । यो रेकर्ड हाल इटालीका लियोनार्डो बोनुचीको नाममा छ । तीन वर्षअघि इङ्गल्याण्डविरुद्ध बराबरी गर्दा उनी ३४ वर्षका थिए।

पोर्चुगलले २०१६ को सफलता दोहोर्‍याउँदा रोनाल्डो स्पेनका इकर कासिलास (२००८ र २०१२) पछि दुई युरो उपाधि जित्ने दोस्रो खेलाडी बन्नेछन्।

पोर्चुगल चेक गणतन्त्र, टर्की र जर्जियासँग समूह एफमा रहेको छ । पोर्चुगल विश्व वरीयतामा छैटौँ स्थानमा छ । सबै शीर्ष वरीयताहरू भएका टोलीहरुमध्ये पोर्चुगल सबैभन्दा सजिलो समूहमा छ । किनभने अन्य कुनै पनि प्रतिद्वन्द्वी शीर्ष २५ भित्र छैनन् । चेक गणतन्त्र ३६ औँ, टर्की ४० औँ र जर्जिया ७५ औँ स्थानमा छ ।

रोनाल्डो एक युरोमा पाँच वा सोभन्दा बढी गोल गर्ने नौ जना पुरुषमध्ये एक हुन् । उनले २०२१ मा पाँच गोल गरेका थिए । उनीभन्दा प्लाटिनी (१९८४ मा ९ गोल) र फ्रान्सका एन्टोइन ग्रिजम्यान (२०१६ मा ६ गोल)ले मात्रै बढी प्रभावशाली अभियान गरेका छन्।

पोर्चुगलका लागि २०६ खेलमा रोनाल्डोले अविश्वसनीय १२८ अन्तर्राष्ट्रिय गोलहरू गरेका छन् । उनले (पेनाल्टी सुटआउटसहित) ४७ फरक देशहरुविरुद्ध गोल गरिसकेका छन् ।

उनले चेक गणतन्त्रविरुद्ध दुई गोल गरेका छन् तर टर्की वा जर्जियाविरुद्ध गोल दर्ता गर्न बाँकी छ । त्यसैले प्रतियोगिताको अन्त्यमा, यदि पोर्चुगल नकआउट चरणमा पुग्यो भने उनले ५० देशहरूविरुद्ध गोल गर्न सक्छन् ।

  • रोनाल्डोको भविष्य

पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डो, जो हाल साउदी अरेबियाको टोली अल-नासरबाट खेलिरहेका छन्, ले सेप्टेम्बरमा आफ्नो करियरमा ८५० गोलको कोशेढुंगा पार गरे ।

उनलाई शारीरिक रूपमा सबैभन्दा फिट एथ्लीटहरू मध्ये एक मानिन्छ । त्यसैले के उनी आफ्नो देशका लागि अझ लामो समयसम्म खेल्न सक्छन् ? भन्ने प्रश्न गरिन्छ ।

सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिको र संयुक्त राज्यमा हुँदैछ । त्यतिबेलासम्म उनी ४१ वर्षको हुनेछन् । के उनले आफ्नो कुल आठ विश्वकप गोलहरू थप गर्न सक्लान् ? हाल सबै समयको सूचीमा उनी संयुक्त २६ औँ स्थानमा छन् ।