नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ : सांसद पौडेल

 नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका हुन् ।

उनले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको बताए । उनले सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रस्तुत गर्न नसकेको बताए । पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताए ।

उनले विगतका सरकारहरू र मन्त्रीका कारणले वर्तमान व्यवस्थामाथि टिकाटिप्पणी भइरहेको बताए । पौडेलले भने, “यो विनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन । खासगरी मन्त्री र सरकारहरुको कारणले हाम्रो व्यवस्था र संघीयतामाथि सबभन्दा बढी टिकाटिप्पणी भइरहेको छ । गृह मन्त्रालयमा प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ । नेतृत्वले भनिरहने कुनैपनि काम नहुने स्थिति बनेको छ । गृह मन्त्रालयको पनि चालु खर्च १ अर्ब १० करोड वृद्धि भएको स्थिति छ । सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले जुन स्पष्टता प्रस्तुत गर्नुपर्ने हो त्यो स्पष्टता प्रस्तुत गरेको स्थिति छैन ।”

सांसद पौडेलले योजना छनौट र बजेट विनियोजनप्रति आफ्नो गम्भीर प्रश्न रहेको बताए ।