पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा

काठमाडौँ, ४ असारः पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जिल्लाका सात पालिकामा सुरु एक सय १७ सिँचाइ आयोजनामध्ये हालसम्म सम्पन्न ९० वटा आयोजनाबाट सिँचाइ सुविधा विस्तार भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिनुभयो । 

प्रमुख अधिकारीका अनुसार थप २० वटा आयोजना यही असार मसान्तसम्म पूरा हुने क्रममा छन् । जिल्लाका अधिकांश योजना बहुवर्षे भएको र छोटो अवधिका योजनामध्ये झन्डै एक दर्जन योजना सम्पन्न भइसकेको उहाँले बताउनुभयो । जलजला गाउँपालिका–७ मा रहेको पुर्जाखोला र लुङ्दीखोला–भेडावारी सिँचाइ योजना, फलेवास नगरपालिका–६ देविस्थानको लिफ्ट बोरिङ सिँचाइ योजना तथा मोदी–३ को टुहुरेखोल्सी–पूर्णगाउँ सिँचाइ ठूला प्रकृतिका योजना हुन् । 

जिल्लामा रहेका सिँचाइ योजनामध्ये स्तरोन्नति गर्नुपर्ने योजनाको काम पनि सकिएको छ । यस वर्ष स्तरोन्नति, मर्मत र नयाँ सम्पन्न भएका योजनाबाट थप दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो । 

कार्यालयका अनुसार अहिले सञ्चालित योजना सम्पन्न गर्नका लागि झन्डै रु एक अर्ब बजेट आवश्यक छ । योजनाको लागतअनुमानअनुसार पर्याप्त बजेट विनियोजन नहुँदा समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । अधिकांश योजनाहरु रु एक करोडदेखि रु तीन करोडसम्ममा रहेका छन् । 

कार्यालयमा चालु आर्थिक वर्षका लागि विनियोजित भएको कूल रु १८ करोड ९३ लाखमध्ये जेठ मसान्तसम्म रु १३ करोड २८ लाख ७० हजार खर्च भइसकेको छ । चालु आवको जेठ अन्तिम सातासम्म भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको जनाएको छ । 

सिँचाइ योजनाहरुको सङ्ख्या उल्लेख्य भए पनि कतिपय पुराना र क्रमागत योजनाहरु नियमित बजेट विनियोजन नहुँदा भग्नावशेषमा परिणत भइसकेका छन् । नयाँ योजना थपिने तर पूराना योजना सम्पन्न गर्न बजेट विनियोजन नभएका कारण जिल्लाभर झन्डै ४० वटा पुराना योजना अधुरै रहेको कार्यालयले जनाएको छ । 

पर्वतको कूल खेतीयोग्य जमिनमध्ये ११ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच छ तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टर मात्र रहेको कार्यालयले जनाएको छ ।