वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको छ : सांसद रोशन कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएकी छिन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताएकी हुन्। 

उनले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताइन्। परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचरहरु किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुलाई भत्ता दिनुपर्ने उनको भनाइ छ।

उनले भनिन,‘परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचरहरु आदि किन्नुमा जाने रहेछ। यसमा कटौती गरियोस्। यसको रकम संसद सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ। उहाँहरुलाई दिइयोस् भनेर प्रश्ताव राख्न चाहन्छु। रसियामा २५ जना मरिसके। परिवारले दुःख पाएका छन्। नेपाली युवाहरु कतिजना मरेपछि मात्र कुटनीतिक पहल गरेर रसियामा गएका सैनिकहरुलाई फिर्ता गर्न सकिन्छ ? यो मेरो प्रश्न छ । पाँच जना बन्धक छन्। तिनलाई छुटाउन के कुटनीतिक पहल गर्नुभयो ? रसियाले टेरेन भने परराष्ट्र मन्त्रालय कुटनीतिक पहलमा असफल भएको होइन र ? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीले भेटेको जुन दृश्य देखियो। त्यो दृश्य कुटनीतिक आचारसंहितामा पर्छ कि पर्दैन ? मलाई त लाज लाग्यो। त्यो देखेर नेपालीको शीर निहुरिएको छ। चाँडोभन्दा चाँडो कुटनीतिक पहल गर्नुस्, बन्धक बनाएका युवाहरुलाई छुटाउने प्रयास गर्नुस्। गृहमन्त्रीसँग अनुरोध, बस्तीहरुलाई राम्रो ठाउँमा ल्याउँ । के यो सरकार फेल भएको हो ? सत्तापक्ष पनि विरोधी, विपक्ष हुने भैहाल्यो। सरकार असफल भएको हो ? नैतिकताको दृष्टिले सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? यो सरकार पूर्णतः फेल भइसकेको छ। राजीनामा गर्नुस्।’