ललितपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

 दाङ र ललितपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–९ बालकुमारी पुलस्थित सडकमा प्रदेश नम्बर ०२ –०३ –००१० ख ५३५७ नम्बरको ट्रकले बा.८३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली तिनपाटन गाउँपालिका–४ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने ३५ वर्षीय रमेश कुमार पाण्डे रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङको शान्तिनगर गाउँपालिका–१ नयाँ बस्तीस्थित सडकमा खिलतपुरबाट अमुवातर्फ जाँदै गरेको रा.१ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ बस्ने ५१ वर्षीय धन बहादुर भण्डारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।