आफुलाई भष्ट्राचार विरोधी अभियन्ता बताउने चार जनालाई ठगीको आरोपमा पक्राउ

गोकर्णेश्वर नगरपालिकाभित्र गैह्र कानुनी रुपमा ‘बेथिति एवं भष्ट्राचार बिरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर बिभिन्न वडाहरुमा त्यसका शाखाहरु समेत अबैध रुपमा विस्तार गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, बिभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गएर हामीहरु भष्ट्राचार बिरोधी अभियन्ता हौ भन्दै जाने र असम्बन्धित सूचना माग्ने तथा धम्क्याउने गरेको पाइएको प्रहरीको भनाई छ। 

 

‘तिमीहरूको विरुद्धमा भष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस बिषयमा छानबिन गर्न आएका हौँ, हामीलाई सबै हिसावकिताब देखाऊ भन्दै असम्बन्धित सुचनाहरु माग्ने, पदाधिकारी तथा कर्मचारीहरुलाई धम्काउने, मुद्धा हालदिन्छु भनी आतंक सृजना गरी भिडियो बनाई अनाधिकृत तवरले रकम समेत असुली गरी ठगी गर्ने तथा पुष्टि नै नभएका कुराहरुलाई सामाजिक संजालमा राखी चरित्र हत्या गर्ने जस्ता कार्यहरू गर्ने गरेको आरोपमा उजुरी परेको छ’, प्रहरीले भनेको छ। 

प्रहरी वृत्त बौद्धमा जाहेरी परेपछि असार ३ गते चारजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ६ का ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका ८ का २६ वर्षीय आदर्श क्षेत्री, वडा नं १ की २० वर्षीया अस्मिता खत्री र वडा नं २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन्। 

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।