झापामा बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते : तीनको अवस्था गम्भीर

 झापाको कमल गाउँपालिकामा मंगलबार बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–४ मा बा३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रुबाहक बस एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

घाइतेमध्ये अवस्था सामान्य रहेकाको दमकस्थित दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई भने दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले बस चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताए ।