तिलगंगा आवास क्षेत्रको घरजग्गा खाली गर्न स्थानीयले अटेर गरे बल प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषको चेतावनी

पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गतेको निर्णयअनुसार अधिग्रहण भएको तिलगंगा आवास क्षेत्रको घरजग्गा खाली गर्न स्थानीयले अटेर गरेका छन् ।

गुरुयोजना कार्यान्वयनका लागि काठमाडौं महानगरपालिका ८ तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय भएको थियो । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६, ७, ८ बमोजिम प्रारम्भिक कारबाही भई जग्गा प्राप्ति ऐनको दफा १० अनुसार २०७० जेठ ३० गते घरजग्गा अधिग्रहण सम्बन्धी सूचना प्रकाशण भएको थियो ।

२०७१ वैशाख ५ गते पशुपति विकास कोषले मुआब्जा बुझिलिन आउने सूचना जारी गरेकोमा सूचना बमोजिम सक्कल कागजात प्रमाणअनुसार अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ ।

तथापि हालसम्म पनि उक्त क्षेत्र खाली नभएको भन्दै कोषले १५ दिनभित्र तिलगंगा क्षेत्रका  कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल लिगलगापात सबै हटाउन अन्यथा बल प्रयोग गर्ने चेतावनी दिएको छ । सो क्षेत्रका झन्डै १ सय संख्यामा पक्की तथा कच्ची घर टहरा रहेका छन् ।

कोषले २०७७ असार २० गते पनि तत्काल उक्त क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो । तर सूचनाको बर्खिलाप हुनेगरी हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल लिगलगापात समेत खाली नभएको कोषको भनाइ छ ।