सशस्त्र प्रहरी बलका डिआइजी थापालाई कारबाहीको तयारी

 सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा गत चैत २१ गते आगलागीको घटनाबारे गम्भीरता पूर्वक अध्ययन गर्दै डिआइजी पुरुषोत्तम थापालाई कारबाहीको तयारी थालिएको स्रोतले बताएको छ 

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका बेला कुनै पनि जिम्मेवारी ननिभाएका कारण थापालाई कारबाहीको तयारी थालिएको हो । त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जना समेतलाई कारबाही गरेको अवस्थाका डिआइजी थापालाई थप कारबाहीको तयारी थालिएको हो ।

सशस्त्रमा सो आगलागीबाट २० करोड बराबरको सामान क्षति भएको थियो । त्यसले गर्दा सशस्त्रको बन्दोबस्तीको सामान खरिदमा ठूलो असर परेको स्रोतको दाबी छ ।

आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा बनेको ९ सदस्यीय छानबिन समितिले भण्डारण शाखाका एसपीसहित ७ जनासँग सोधपुछ गर्नुका साथै गृह मन्त्रालयका सहसचिव भरतमणी रिजालको संयोजकत्वमा पनि अर्को समिति बनाएर उनलाई कारबाहीको सिफारिस गरिएको थियो ।

बाहिनीको कमान्डले समयमा सक्रियता नदेखाउँदा धेरै क्षति भएको भन्दै उनलाई पनि कारबाही हुनुपर्ने भन्दै थापाका व्याचीहरूले गृह मन्त्रालयमा पनि लविङ थालेका थिए । गृह मन्त्रालयले गठन गरेको सहसचिव भरतमणि रिजालको नेतृत्वको समितिले बाहिनी कमान्डको कमजोरी औँल्याएको थियो । ‘बाहिनीपति हुँदा समयमै ड्युटी परिचालन भएन कि भन्ने आशंका व्यक्त गरिएको छ’, स्रोतले भन्यो ।

त्यस्तै, सशस्त्रको केन्द्रीय स्टोरका प्रमुख एसपी राजेन्द्र श्रेष्ठमाथि पनि कारबाही हुन लागेको छ । स्टोर प्रमुखको समेत लापरबाहीले आगलागी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसअघि नै श्रेष्ठसहित स्टोर शाखाका सबै सशस्त्र प्रहरीलाई प्रधान कार्यालयले जिम्मेवारीबाट हटाइसकेको छ । आगलागीमा परी सशस्त्र प्रहरीका कर्मचारीका जुत्ता, कपडालगायतका सामान जलेका थिए ।

कतिपय ठेकेदारले बुझाएका तथा सशस्त्र प्रहरीले बुझिनसकेका सामानसमेत जलेर नष्ट भएका छन् । छानबिनका क्रममा विद्युत् सर्ट भएरै आगलागी भएको निष्कर्ष निकालेको छ । तर, चाँडो रेस्पोन्स भएन भन्ने विषयले उनीमाथि कारबाहीको तयारी भएको हो ।