प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहनेछ ।

आज गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय अन्तर्गत बजेटका शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा सांसदहरु डा. अमरेशकुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्रप्रसाद लिङ्देन, ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान र विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव पेश गर्नेछन् ।