परराष्ट्रमा चर्चा सीके राउतको, सम्भावना अञ्जान शाक्यको

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सत्ता गठबन्धनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेको भनेर प्रचार गरिँदै छ । सबैजसो मिडियाले अब उनलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रको जिम्मेवारी दिन लागिएको भनेर लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका भनिएको छ । स्वयं प्रधानमन्त्री प्रचण्ड वा एमाले अध्यक्ष ओलीले उनलाई विभागैसहित प्रस्ताव भने पठाएको पाइँदैन । उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले प्रचण्ड र ओलीको तर्फबाट परराष्ट्र लिने गरी आउन सन्देश पठाएको कुराचाहिँ राउतले नै विभिन्न सञ्चार माध्यमलाई बताएको पाइन्छ । 

प्रचण्ड नेतृत्वकै सरकारमा यसअघि जनमत पार्टीको तर्फबाट अब्दुल खान र अनिता साह सहभागी भएका थिए । यसपालि जनमतले संघीय सरकारमा सहभागिताको विषयमा मुख खोलेको छैन । पार्टीबाट आधिकारिक निर्णय पनि गरेको पाइँदैन । जनमतले मधेस सरकारमा मुख्यमन्त्री पाइसकेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई विस्थापित गरी आफूले मधेस सरकारको नेतृत्व गर्न पाउनु नै जनमतले आफ्नो ठूलै उपलब्धि र जितकै रुपमा लिएको देखिन्छ । हुन पनि आफूलाई मधेसको मसिहा नै ठान्ने उपेन्द्रको विरासत ढाल्न सक्नु र त्यो स्थान भर्खरै उदाएको शक्तिले लिनु चानचुने सफलता भने होइन । भलै यसमा नेकपा एमालेदेखि माओवादीजस्ता शक्तिहरुको पनि साथ छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले समेत अन्तिम समयमा उपेन्द्रको साथ छाडेर सीके नै रोजेको छ ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेको छन् । उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि उनको रिक्तता पूर्तिका लागि सीके राउतलाई सरकारमा सहभागी गराउनुपर्ने बाध्यतामा पनि प्रचण्ड रहेका छन् । २०७९ मंसिरको चुनावमा राउतले यादवलाई हराएका थिए । पछि २०८० वैशाखको उपचुनावमा यादव चुनिएर आएका हुन् । त्यहाँ पनि उनका लागि जनमत नै प्रमुख चुनौती बनेको थियो । प्रतिनिधि सभामा जनमतका ६ सांसद छन् । जबकि उपेन्द्र यादवसँग जसपाका ५ सांसद मात्र बाँकी छन् । ७ जना सांसदले उपेन्द्रको साथ छाडी नयाँ पार्टी गठन गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमै आफ्नो पार्टीबाट मन्त्री बनेकाहरु नारायणकाजी श्रेष्ठदेखि शक्ति बस्नेत र रेखा शर्मालाई हटाउने तयारी गरेका छन् । पर्यटनमन्त्री हितबहादुर तामाङको विभाग परिवर्तनको योजना छ । श्रेष्ठले पाइरहेको परराष्ट्र एमालेको कोटामा पर्छ । केवल उनको व्यवस्थापनमा प्रचण्डलाई सहज होस् भनेर मात्र केही समयका लागि ओलीले छाडिदिएको बुझिन्छ । 

अब भने एमालेले परराष्ट्र छाड्ने छैन । एमाले अध्यक्ष ओलीले परराष्ट्र मन्त्रालयमा अञ्जान शाक्यलाई ल्याउने सम्भावना बढेको छ । एमालेको उच्च स्रोत अनुसार अहिलेसम्मको इतिहास हेर्दा ओलीले आफूनिकट खासखास मान्छेलाई अवसर दिएपछि मात्र अन्य नेता–कार्यकर्तालाई सम्झिने गरेका छन् । ओलीकै प्रतापका कारण शाक्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक, इजरायलको राजदूत, राष्ट्रिय योजना आयोगको सदस्य र राष्ट्रिय सभाको सदस्यको अवसर पाइसकेकी छन् । यी कुनै पनि पद चुनाव लड्नु नपर्ने तर पार्टीको भागमा परेर खान पाइने पद हुन् । 

अब त उनी सांसद नै भइसकिन् । मन्त्रीका लागि योग्यता पनि पुगिसक्यो । पूर्वराजदूत र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको अनुभवले उनलाई परराष्ट्र मन्त्रालयबाहेक अरु कुन विभाग सुहाउला र ? त्यसैले यो सरकार एक दिन र एक छिन मात्र टिक्यो भने पनि एमालेबाट परराष्ट्रमन्त्रीको अवसर पाउने पहिलो र एक मात्र पात्र अञ्जान शाक्य हुनेछन् भनेर एमालेकै प्रायः नेताहरूको ठोकुवा छ । ती नेताहरुकै शब्दमा भन्दा, अञ्जान शाक्यजत्तिको योग्य अर्को पात्र न झापामा छन्, न त ओली थरकै अर्को व्यक्ति उनको नगिचमा देखिन्छन् । यस्तो अवस्थामा अञ्जान शाक्यबाहेक अर्को व्यक्ति परराष्ट्रमन्त्री हुनै सक्दैनन् ।