टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कदै

 टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ।

सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले जानकारी दिए। हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ।

विश्व कप तयारीकै सिलसिलामा यता आएको नेपाली टोली झन्डै डेढ महिनापछि स्वदेश फर्कन लागेको हो । सुरुमा नेपालबाट फ्लोरिडा पुगेको नेपाली टोली ३ वटा अभ्यास खेलका लागि सेन्ट भिन्सेन्ट आएको थियो।

यहाँ विन्डवार्ड भोलक्यानोजसँँग २-१ को जितपछि थप २ अभ्यास खेलका लागि टेक्सासको हुस्टन पुगेको थियो। त्यहाँ हुस्टन हरिकन्सलाई २-० ले हराएपछि टोली विश्वकपका लागि डालास पुगेको थियो। त्यसपछि नेपाली टोलीले वार्नअपसहित कुनै खेल जितेन ।

जुन २७ मा क्यानाडासँगको वार्म अप खेल हारेको नेपाली टोलाीले जुन ४ मा नेदरल्यान्ड्ससँगको विश्व कपको पहिलो खेल ६ विकेटले गुमाएको थियो। जुन ११ मा श्रीलंकासँग जुन ११ को खेल वर्षाका कारण रद्द भएपछि टोली जुन १३ मा सेन्ट भिन्सेन्ट आइपुगेको थियो।

जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्राको अन्त्य गरेको छ।