बिमानस्थलबाट भएको ३ हजार १९४ केजी सुनको तस्करीमा संलग्न गिरोहले हुन्डीमार्फत कारोबार गरेकाे खुलासा

त्रिबुभव अन्तराष्ट्रिय बिमानस्थलबाट नियमित रुपमा भएको सुन तस्करीमा संलग्न चिनियाँ र नेपाली तस्करहरूले अवैध माध्यमबाट रकम लेनदेन गर्ने गरेको रहष्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले लामो अनुसन्धानपछि यस्तो रहष्य पत्ता लगाएको हो ।

नेपालमा दुई वटा मोबाइल वालेट तथा विदेशमा एजेन्ट परिचालन गरेर हुन्डीमार्फत कारोबार गरेको तथ्य फेला परेको सिआइवीले जनाएको छ ।

प्रहरीका अनुसार ६० केजी सुन तस्करी गर्ने समूहले अहिलेसम्म ३ हजार १९४ केजी सुन तस्करी गरेको पाइएको छ । तस्करले अस्ट्रेलिया, कोरिया र दुबईमा एजेन्ट परिचालन गरेर त्यहाँबाट नेपाल पठाउन चाहनेहरूको पैसा सङ्कलन गर्ने र सो रकमलाई डिजिटल मुद्रा ‘युएसडिटी’ मा रूपान्तरण गरेर हङकङमा पठाउने गरेको अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतले जनताटाइम्स डटकमलाई बताए । ती अधिकारीका अनुसार सुन तस्करीको भुक्तानी सोही माध्यमबाट गर्ने गरेको पाइएको छ ।

प्रहरीका अनुसार तस्करसँगको मिलेमतोमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ का एजेन्टहरूले अस्ट्रेलिया, कोरिया र दुबईमा नेपालमा पठाउन भनेर आफन्तले बुझाएको रकम नेपालमा भुक्तानी दिने गरेका हुन् । सुन तस्करहरूको रकम भुक्तानीमा दुई वटा वालेट कम्पनीहरूले राष्ट्र बैङ्कको नीति विपरीत हुन्डीको काम गरेको भेटिएको छ ।

अनुसन्धानमा फेला परेको तथ्यअनुसार २०८० बैशाख १४ वैशाख गतेदेखि हालसम्म ‘पेवेल’ र ‘सजिलो पे’ले १ खर्ब ८ अर्बको कारोबार गरेको भेटिएको छ । कारोबारमध्ये धेरै रकम सुनको भुक्तानी गरेको भेटिएको सीआईबीले जनाएको छ ।

यो तथ्य फेला परेसँगै सिआइवीले पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज सम्शेर जबरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार सोही माध्यबाट सक्रिय एजेन्ट १५ सय ४७ जना मध्ये ८ जना मुख्य एजेन्टले अरबौँको कारोबार गरेको भेटिएको छ । प्रहरीका अनुसार बारामा पशुपति कन्सर्न सञ्चालन गर्ने अरुणकुमार यादव र जेके मनि ट्रान्सफर सञ्चालक लालबहादुर कुँवर पेवेलका एजेन्ट हुन् । उनीहरु पक्राउ परेपछि यो बिषयमा थप खुलासा भएको थियो ।

सुन कारोबारको रकम एजेन्टले पेवेलको खातामा भौचर अपलोड गर्ने तथा वालेट सञ्चालकले राष्ट्र बैङ्कको नीति विपरीत स्रोत नखुलेको रकम भुक्तानी दिने गरेका हुन् । पेवेलले २१ वटा बैङ्कमा खाता सञ्चालन गरेको थियो । तस्कर समूहका सदस्यहरू ती सबै बैङ्क खाताबारे जानकार थिए ।

प्रहरीका अनुसार ‘सजिलो पे’ ले पछिल्लो एक वर्षमा २६ अर्ब कारोबार गरेको भेटिएको छ । सजिलोका सीइओ कश्यप मानन्धर, सञ्चालक भक्तपुरकासुशील ज्याकिबन्जा र काठमाडौँ– ६ घर भएका फुन्सुक डाग्पा अथुप्छाङ खम्पालाई पनि प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष सुनिल ज्याकिबन्जा भने फरार छन् । प्रहरीले यस बिषयमा छानविनका लागि हालसम्म भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, धिरज दिनेश वैटे ‘दिनेश’ र प्रशान्त गणेश वजवलकारलाई प्रक्राउ गरेको छ ।

यसैगरी वीरगन्ज महानगरपालिका–१६ का सुरेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिका–९ का राजु खत्री, बिशाल बजारमा शक्ति क्रिएसन सञ्चालक भारत गुजरातका बैजनाथ ब्रह्मादत्त गोयल, धादिङ सिद्ध लेक–५ का राजु थापा भन्ने प्रेमनाथ सेढाईं, काभ्रे तेमाल गाउँपालिका–४ का कान्छा लामा, चिनिया नागरिक ‘राजु भोटे र टासी भनेर चिनिने) कङ्का चासीलाई प्रक्राउ गरेको छ ।

यस्तै प्रहरीले पेवेल नेपाल प्रालिका अध्यक्ष भीमप्रसाद तिमल्सिना,सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, सञ्चालक समिति सदस्य सुरजसम्शेर जबरा, सजिलो पे का फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील ज्याकिबन्जा, कश्यप मानन्धर, रुपन्देही तिलोत्तमा–६ स्थित जेके मनि ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवर, बारास्थित पशुपति कन्सर्नका अरुणकुमार यादव, चीनका सोनाम गुरुङलाई पक्राउ गरिसकेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।