सशस्त्र प्रहरी बलका दुइ डीआईजीलाइ साेधियाे स्पष्टीकरण

सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेल र डीआईजी पुरुषोत्तम थापा लगायतका केही अधिकृतहरुलाई संगठनको हित विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । 

उनीहरुलाई संगठनमा रहेर गर्नुपर्ने आचारसंहिता पालना नगरेको तथा संगठनको हित विपरीत कार्य गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो । तर उनीहरुले संगठनको हित विपरीत के कार्य गरे भन्ने बारेमा केही खुलाइएको छैन । 

पोखरेलले सशस्त्र प्रहरीको एक कार्यक्रममा नेपाल प्रहरीलाई सीमा क्षेत्रबाट हटाउनु पर्ने र त्यहाँ सशस्त्रले कभर गर्नुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावको बारेमा कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै नेपाल प्रहरीले गृह मन्त्रालयमा गुनासो गरेको थियो । 

त्यसबाहेक उनले कोशी प्रदेशमा रहेका बेला पहाडी गुल्मबाट जनशक्ति ल्याएर धेरैलाई आउट छाडेको आरोपमात्र होइन प्रमाणित नै भएको थियो । डीआईजी शम्भु सुवेदीलाई बाहिनी बुझाउने बेला डीआईजी पोखरेलले बाहिनीबाट १०९ जना बिदामा रहेको हाजिर दिएका थिए । 

पहाडी गुल्मबाट कर्मचारी तानेर बाहिनी थुपारेका पोखरेलका कारण अहिले पूर्वी पहाडका गुल्म बेश जस्ता भएका थिए । गुल्ममा ५०–५५ जना जनशक्ति पनि छैनन् ।

त्यसपछि उनी मधेस प्रदेश जानका लागि माओवादी नेताहरुलाई भेटघाट गर्न पुगेका थिए । सो विषयलाई पनि संगठनले नोटिसमा राखेको जनाएको थियो । मधेस प्रदेशमा जान नपाएपछि उनले बराह बाहिनीमा केही अधिकृतहरुलाई बोलाएर संगठनमा आफूले जति राम्रो काम गरेको भए पनि राम्रो काम गर्नेलाई अवसर नदिएको भन्दै गुनासो गरेका थिए । 

बराह बाहिनीको कमाण्डमा उनी निकै विवादित भएका थिए । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले दुई डीआईजीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरेका छन् । 

‘अञ्जनी पोखरेलले विभागको स्वीकृति बेगर को कससँग भेटघाट गरेको त्यसको बारेमा जानकारी दिनु भनिएको हो’, डीआईजी न्यौपानेले भने, ‘विभागको स्वीकृति बेगर कुनै राजनीतिक दलका नेताहरुसँग भेटघाटलाई रोक लगाइएको छ त्यसकरण उनको हकमा केही सूचनाको आधारमा जानकारी मागिएको हो ।’

सशस्त्र प्रहरीको प्रशासन विभागले सो स्पष्टीकरण सोधेको हो । अर्का डीआईजी पुरुषोत्तम थापालाई पनि विभागले स्पष्टीकरण सोधेको छ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा चैत २७ गते आगलागीको घटनाबारे गम्भीरता अध्ययन गर्दै डीआईजी थापालाई कारबाहीको तयारी स्वरुप स्पष्टीकरण सोधिएको हो ।  

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका बेला कुनै पनि जिम्मेवारी ननिभाएका कारण उनलाई कारबाहीको तयारी स्वरुप पहिलो चरणमा स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ ।  

त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाईसमेत कारबाही गरेको अवस्थामाा डीआईजी थापालाई विभागीय कारबाहीको तयारी रहेको स्रोतले जनाएको छ ।  

थापाको हकमा भने सशस्त्र प्रहरीले स्पष्टीकरण सोधेको भन्दा पनि गृहबाट नै सोधिएको हुन सक्ने प्रवक्ता न्यौपानेले बताए ।

‘९ नम्बर बाहिनीको बाहिनीपति हुँदा सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा आगलागी भयो सो सम्बन्धमा दुई वटा छानबिन समिति बनेका थिए, त्यसका आधारमा स्पष्टीकरण सोधिएको हुनसक्छ’ डीआईजी न्यौपानेले भने । 

 

facebook sharing button

twitter sharing button

messenger sharing button

sharethis sharing button