घरेलुहिंसा तथा विद्युतीय अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

 काठमाडौँ, ३ असारः नेपाल प्रहरी श्रीमती सङ्घ भृकुटीमण्डपको आयोजना र प्रहरी वृत्त कीर्तिपुरको सहकार्यमा घरेलुहिंसा तथा लैङ्गिक हिंसा न्यूनीकरण एवं सामाजिक सञ्जालको दुरुपयोगलगायतका विषयमा सचेतनामूलक कार्यक्रम आज सम्पन्न भएको छ ।

काठमाडौँ कीर्तिपुर नगरपालिका–१ पुरानो दरबारमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । त्यस अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैङ्गिक तथा घरेलुहिंसा र विद्युतीय अपराधलाई निर्मूल पार्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो । 

उहाँले भन्नुभयो, “प्रविधि र इन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन समयमै सचेत हुनुपर्ने छ ।” उक्त कार्यक्रममा अधिवक्ता राधिका खतिवडाले साइवर अपराधसम्बन्धी कानूनी प्रावधानबारेमा जानकारी दिनुभएको थियो । घरेलुहिंसा न्यूनीकरणसम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनीकरणसम्बन्धी ‘मोबाइल क्राइम’ नामक नाटक प्रदर्शनीका साथै सामूहिक सहचारी नृत्य प्रस्तुत गरिएको थियो ।  

यसैगरी प्रहरी वृत्त कीर्तिपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले कार्यक्रमको औचित्यबारे जानकारी गराउनुभएको थियो । नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारी, स्थानीय जन प्रतिनिधि, विभिन्न शिक्षण संस्थाका शिक्षक÷शिक्षिका एवं विद्यार्थी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।