नारायणगढमा बृहत् योग शिविर सम्पन्न

काठमाडौँ, ३ असारः  १०औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२४ को अवसरमा आज चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बृहत् योग शिविर सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा योग शिविर सम्पन्न भएको हो ।
 
 सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजकलाई धन्यवाद दिँदै भरतपुरमा शिविर सञ्चालन हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले स्वस्थ जीवनका लागि योग, शारीरिक तन्दुरुस्तीका लागि योग र अनुशासनका लागि योग आवश्यक रहेको बताउनुभयो । 

महानगरले पनि विभिन्न स्थानहरुमा योग शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै नगर प्रमुख दाहालले पतञ्जलीलगातका संस्थाहरुसँग सहकार्य गरेर योग कक्षा सञ्चालनमा अघि बढेको जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले विद्यालयमा योग प्रशिक्षक राखेर विद्यार्थीलाई योग सिकाउँदै आएको पनि सो अवसरमा उल्लेख गर्नुभयो । 

नेपालका लागि भारतीय महावाणिज्य दूतदेवी साही ‘डिएस’ मिनाले योगा सबैका लागि अति आवश्यक रहेको बताउनुभयो । उहाँले दूतावासले अन्तर्राष्ट्रिय योग दिवस, सप्ताहव्यापी रुपमा नेपालमा विभिन्न कार्यक्रम तथा योग शिविर गरी मनाउँदै आएको बताउनुभयो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको उल्लेख गर्दै महावाणिज्य दूत डिएस मिनाले नेपालको मुख्य सहर हेटौँडा, नारायणगढ, रौतहट, जनकपुर, पोखरिया (पर्सा) र वीरगञ्जमा योग शिवर सञ्चालन गरिँदै आएको उल्लेखगर्नुभयो ।  नियमित योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने उहाँको भनाइ थियो । 

उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले योग शिविरबाट योगा सिक्ने अवसर भएको बताउनुभयो । बृहत् योग शिविरमा सङ्घका तर्फबाट सहभागिता र सहयोग गर्न पाउनु राम्रो विषय रहेको उहाँको भनाइ थियो । उहाँले बदलिँदो जीवनशैली कारण अहिले आमनागरिकमा मानसिक रोगको क्रम बढ्दो अवस्थामा रहेको र  नियमित योग अभ्यासले निको पार्न सकिने उहाँले उल्लेख गर्नुभयो । 

   शिविरमा जिल्लाका सुरक्षकर्मी, विभिन्न कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीलगायतको उल्लेख्य सहभागिता  थियो । शिविरमा पतञ्जली योग पिठकी योग प्रशिक्षक अस्मिता पाण्डेले योगा सिकाउनुभएको थियो भने आर्ट अफ लिभिङका विकास काफ्लेले योग र जीवनबारेका भनाइ राख्नुभएको थियो ।