अवैध लागूऔषध विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले रौतहट गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ख २९६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई पक्राउ गरेको हो ।

चितवन राप्ती नगरपालिका-११ डुम्रीखाडीबाट अवैध लागूऔषध गाँजा ४ किलो ९ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-११ बस्ने २४ वर्षीय मनोज गुरूङ र नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय सुशील पुन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले थाकलटारबाट भण्डारातर्फ जाँदै गरेको ना. ५९ प ९९०८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाइन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित बैजनाथ गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रदिप कुमार बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.५ प ४५५३ नम्बरको स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो ।

बर्दिया बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ४० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-६ बस्ने २४ वर्षीय शिसिर भण्डारी र २० वर्षीय निरज थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो ।