स्थानीय उत्पादनको प्रसारप्रचार गर्न दुई दिने औद्योगिक प्रदर्शनी मेला

काठमाडौँ, ३ असारः  : उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले सदरमुकाम सिमकोटमा दुई दिने औद्योगीक प्रदर्शन मेला सञ्चालन गर्ने भएको छ । 

कार्यालय प्रमुख प्रदीप रेग्मीले स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले यही असार ११ र १२ गते औद्योगिक मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यालयमा दर्ता भएका उद्योगीहरूका विभिन्न उत्पादन तथा फापरबाट बनेका विस्कुट, कोदोबाट बनेका विभिन्न परिकार मेलामा राखिने उहाँले बताउनुभयो । यसैगरी स्थानीयले उत्पादन गरेका राडिपाखी, होजियारी, लत्ताकपडालगायत सामग्री पनि प्रदर्शनीमा राखिने छन् । 
जिल्लामा लुकेका विभिन्न स्थानीय रैथाने सीप र उत्पादन साग्रमीलाई प्रचारप्रसार गर्ने कार्यालयको परिकल्पनाअनुसार प्रदर्शनी मेलाको आयोजना गरिएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । 

मेलामा प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार, तृतीयलाई रु १० हजार पुरस्कारको व्यवस्थासमेत गरिएको छ । स्थानीय उत्पादनले प्रचारप्रसारको अभावमा  बजार नपाएको गुनासो बढिरहेका बेला आयोजना हुन लागेको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।